काठमाडौं– मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीले मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिएका छन्।
सोमबार एक ट्वीटमार्फत मोदीले ओलीलाई शीघ्र स्वाथ्यलाभको कामना गरेका हुन्। नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन ओलीबाट निरन्तर योगदानको अपेक्षा आफूले गरेको उनले बताएका छन्।
ट्विट गर्दै मोदीले भनेका छन्, 'मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गर्दछु। भगवान् पशुपतिनाथले सधैँ तपाईं सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन्। नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईं को निरन्तर योगदान भइरहेको हेर्न चाहन्छु।'
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। आइतबार बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा ओलीले आफू मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको जानकारी गराएका थिए।
त्रिवि शिक्षण अस्पताल महारागन्जमा ओलीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ। यसअघि प्रधानमन्त्री ओलीको २०६३ मा पनि मिर्गौला प्रत्यारोपण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।