काठमाडौं- कतारस्थित मर्करी मीना कम्पनीबाट करिब ५ महिना बराबरको पारिश्रमिक नपाई दुई वर्षअगाडि नेपाल फर्किएका २२ जना व्यक्तिले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।
सो कम्पनीबाट ५ महिनाको पारिश्रमिक नपाई फर्किएका ५५ जनामध्ये ३३ जनाको रकम विभागमा आएको तर आफूहरु २२ जना छुटेको भन्दै मंगलबार विभागमा उनीहरुले उजुरी दिएका हुन्।
उजुरी दिनेहरु वर्षा म्यानपावर, रक्की इन्टरनेशनल म्यानपावर पाराडाइज म्यानपावरलगायत विभिन्न म्यानपावरमार्फत सन् २०२५ मा रोजगारीका लागि कतार पुगेका थिए।
इलेक्ट्रिसियन कामका लागि कतार पुगेका उनीहरुको मासिक पारिश्रमिक १ हजार कतारि रियाल थियो । ओभर टाइमलगायत सेवासुविधाहरु समेत कम्पनीले दिँदै आएको थियो।
‘खानाका लागि पनि पहिले हप्तामा ५० रियाल दिन्थ्यो। पछि घटाएर २० रियालमात्रै दिन थाल्यो। एकदम दुःखले काम गरिरहेका थियौं। कम्पनी घाटामा गयो भनेर पछिपछि त हामीलाई तलब पनि दिन छाड्यो‚’ विभागमा भेटिएका धनुषाका शेलेन्द्र महरानले भने।
साहुबाट ऋण लिएर रोजगारीका लागि कतार पुगेका उनीहरुले खान बस्न र उपचारका लागि खर्च नपाएर पनि कम्पनीमा काम गरिरहेका थिए। नेपाल फर्कन पनि कम्पनीले दिएको थिएन। पछि कम्पनी बन्द भएपछि उनीहरु अलपत्र परेका थिए।
‘आफ्नो देश फर्किन्छु भन्दा कम्पनीले टिकट पनि दिएको थिएन। हामी प्रहरीसम्म पुग्यौं। आफन्तहरुसँग टिकटको लागि पैसा मगाएर फर्किएका थियौं‚’ बाराका विरेन्द्र हजाराले सुनाए।
बाँकी पारिश्रमिक झिकाउनका लागि हामी पहल गर्छौं : विभाग
विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले मर्करी मीना कम्पनीबाट पारिश्रमिक पाउन बाँकी रहेका २२ जनाहरुको रकम झिकाउनका लागि विभागले पहल गर्ने बताए।
‘२०१७ मा फर्किएको बेलामा केही पीडितहरुले मात्रै विभागमा उजुरी गर्नुभयो, सो कम्पनीबाट फर्कनु भएका सबैसँग विभागको सम्पर्क हुन सकेन। हामीले विभागको सम्पर्कमा रहेकाहरुको सूचिमात्रै कतार पठाएका थियौं‚’ विभागका निर्देशक ज्ञवालीले भने, ‘कतारबाट सोहीअनुसार रकम आयो। त्यो रकम आएको सूचना आएपछि अहिले २२ जना फेरि सम्पर्कमा आउनु भएको छ। हामी फेरि उहाँहरुको विवरण दूतावासमार्फत सम्बन्धित निकायसम्म पुर्याउँछौं।’
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।