काठमाडौं- तीन महिना शेयर बजार लागतार ४३६ अंकले सुधार हुँदा दुई वर्ष चार महिनायताकै उच्च बिन्दुमा पुगेको छ। मंगलबार शेयर बजार ४३.०२ अंकले सुधार भएर १५४५.१९ अंक कायम भएको छ।
सरकार परिवर्तनको हल्लाले आइतबार ६९ अंकले सुधार भएको बजारमा सोमबार १.१६ अंकले मात्रै करेक्सन भयो। बुलिस ट्रेण्डमा रहेको बजारमा थोरै करेक्सनपछि मंगलबार पुनः सुधार भएको हो।
सूचकमा सुधारसँगै कारोबार रकम दुई अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको छ।
आइतबार ऐतिहासिक कारोबार भएकोमा मंगलबारको सुधारसँगै तेस्रो ऐतिहासिक कारोबार भएको हो। तीन वर्षसम्म लागार ओरालो झरेको शेयर बजार विगत तीन महिनादेखि सुधारको क्रममा छ।
साढे दुई वर्षको गिरावटलाई विगत तीन महिनाको सुधारले कभर गरिसकेको छ।
बजारले यसअगाडिको सबैभन्दा उच्चतम बिन्दु १८८२ अंकलाई उछिन्ने विश्लेषणसँगै बजारमा अस्वभाविक सुधार भइसकेको छ। बजार सुधार हुनु राम्रो मानिए पनि यसरी एकोहोरो सुधार हुनुलाई राम्रो मानिदैन। यसले बजारलाई परिपक्व पनि नबनाउने बजार विश्लेषकहरु बताउँछन्।
कारोबार सुरु भएको केही समय घटेको बजार पुनः सुधार भएको थियो। सरकार परिवर्तनको हल्ला त्यसमा पनि शेयर बजारले नरुचाइएका अर्थमन्त्री खतिवडा बाहिरिने चर्चाले नै बजार सुधार हुन टेवा पुर्याइरहेको छ।
मंगलबार सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरीको १६ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। तीन महिनाअगाडि ११७८ रुपैयाँमा कारोबार भइरहेको कम्पनीको शेयर मूल्य बढेर १८३७ रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय विवरण राम्रो रहेको तथा भोलिका दिनमा राम्रो लाभांश दिन सक्ने स्पेकुलेसनसँगै कम्पनीको मूल्यमा सुधार आइरहेको छ।
समग्र वाणिज्य बैंकको सूचक एक प्रतिशतले सुधार भएको छ। त्यस्तै जीवन बीमाको सूचकमात्रै ७.७८ प्रतिशतले बढेको छ।
मंगलबार १३ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले सुधार भएको छ। जसमध्ये तीन वटाको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।