काठमाडौं– कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि समग्र आप्रवासन क्षेत्रमा प्रभाव परेको छ। रोजगारीको खोजीमा होस्, घुमफिर वा अन्य कामका लागि एक देशबाट अर्को देशमा जानेहरूको संख्यामा कमी आएको छ।
कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या २७०० पुगेको छ। मृत्यु हुनेमा अधिकांश चीनका नागरिक छन्। संक्रमितको संख्या विश्वभर ८० हजार नाघिसकेको छ।
कोरोना संक्रमित मुलुकका नागरिकहरूलाई अन्य देशको भ्रमण वा कामका लागि जान कतिपय मुलुकहरूले रोक नै लगाएका छन्। जसका कारण समग्र आप्रवासन क्षेत्र प्रभावित भएको हाे। रोजगारी, व्यवसाय वा घुमफिरका लागि एक देशबाट अर्को देश जाने प्रक्रिया कोरोना भाइरसले प्रभावित भएको छ।
कोरोना भाइरसको प्रभावका कारण रोजगारीको खोजिमा विदेशिने कामदारहरूको संख्यामा समेत गिरावट आएको छ।
दक्षिण कोरिया रोजगारी तत्कालका लागि रोक
चीनपछि दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड १९ )को संक्रमण बढ्दै गएपछि कोरिया रोजगारी प्रभावित बनेको छ। ठूलो संख्यामा रोजगारीको खोजीमा दक्षिण कोरिया जाने कामदारहरू केही समयदेखि रोकिएका छन्।
कोरियामा कार्यरत नेपालीहरू पनि कोरोना संक्रमणले त्रासित छन्। कोरिया सरकारले नेपाली कामदार लैजान तत्कालका लागि रोकेको छ।
आगामी हप्ता उडान भएका कामदार पनि पठाउने वा नपठाउने भन्ने बारे निर्णय हुन नसकेको रोजगार अनुमति प्रणाली इपिएस शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए। ‘कोरियामा कोरोना भाइरस संक्रमण बढ्दै गयो भने फागुन १८ गते उडान भएका कामदार कोरिया पठाउन रोक लगाउनु पर्ने अवस्था पनि आउन सक्छ’ निर्देशक खनालले भने।
माघमा विदेशिने घटे
नेपालबाट रोजगारीका लागि ठूलो संख्यामा युवाहरू मलेसियालगायत खाडी मुलुकमा जाने गरेका छन्। यसअघि खाडीमा कोरोनाको संक्रमण नदेखिए पनि समग्रमा खाडीलगायत मुलुकमा जाने कामदारको संख्यामा भने गिरावट आएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएकाे छ।
विगतका केही महिनाहरूमा भन्दा माघमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको छ। गत पुसको तुलनामा माघमा विदेशिनेको संख्यामा गिरावट आएको हाे।
पुसमा ५२ हजार विदेशिएकामा माघमा सो संख्या घटेर ४८ हजारमा झरेको छ। विदेशिनेको संख्यामा गिरावट आएको बारे कोरोना भाइसरका कारण वा अन्य कुनै कारणले हो भन्ने सम्बन्धमा अध्ययन गरिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।
‘चीनमा पनि केही संख्यामा नेपाली युवाहरू श्रम स्वीकृति लिएर जाने गरेका छन्। चीनको रोजगारीमा कोरोना भाइरसको संक्रमणले प्रभावित पारे पनि मलेसियालगायत खाडीमा कामदार गइरहेका छन्। तर समग्रमा हेर्दा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ,’ वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले भने।
साउदी र कतार जाने घटे, मलेसिया जाने बढे
रोजगारीको खोजीमा साउदी र कतार जाने कामदारको संख्यामा गिरावट आएको छ।
पुस महिनामा नयाँ श्रम स्वीकृति लिएर ६ हजारभन्दा बढी साउदी गएका थिए। माघमा ५ हजारको हाराहारिमा मात्रै साउदी गएका छन्।
त्यस्तै कतार जाने कामदारको संख्यामा समेत गिरावट आएको छ। पुसमा ४ हजार कामदार कतार गएकोमा माघमा सो संख्या ३ हजारमा झरेको विभागको तथ्यांकले देखाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।