काठमाडौं- सरकारले विद्युतीय सवारीको आयातलाई प्राथमिकता दिने नीति अवलम्बन गरेसँगै यसकाे आयात बढेको छ। चालू आर्थिक वर्षको ७ महिनामा विभिन्न मुलुकबाट १५ सयभन्दा बढी विद्युतीय सवारी आयात भएको भन्सार तथ्यांकमा छ।
अधिकांश सवारी आयातकर्ताहरुले आफ्नो माउ कम्पनीले उत्पादन गरेका विद्युतीय सवारी ल्याउने अधिकतम् प्रयास गरेकाले पनि आयात बढेको हो। विद्युतीय सवारीमा तुलनात्मक रुपमा कर निक्कै कम भएकाले सस्तोमा उपलब्ध हुँदै आएको छ। भन्सारको तथ्यांकअनुसार नेपालमा चीन, फ्रान्स, बेलायत, भारत, दक्षिण कोरियालगायत मुलुकबाट विद्युतीय सवारी आयात हुँदै आएको छ।
विश्वका उत्कृष्ट सवारी उत्पादन कम्पनीहरु अउडी, ज्यागुअर, टेस्लालगायत कम्पनीका इलेक्ट्रिक कारसमेत आयात भएका छन्। अउडी तथा ज्यागुअरको इलेक्ट्रिक कार नेपाल भित्रिसकेको भएपनि टेस्लाका कार भने भन्सारमै अड्किएका छन्।
विद्युतीय सवारी साधनमा सरकारले लिएको नीतिको कारण यसको आयातमा वृद्धि भएको व्यवसायीहरुको भनाइ छ। आइसी इन्जिनयुक्त सवारीमा १ सय प्रतिशतसम्म अन्तःशुल्क, ७४.५ प्रतिशत १३ प्रतिशत भ्याट, ८ प्रतिशत सडक मर्मत शुल्क लाग्दै आएको छ। तर विद्युतीय कारमा १० प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ४ प्रतिशतमात्र सडक मर्मत शुल्क लाग्दै आएको छ।
साथै सरकारले विद्युतीय सवारीको खरिदमा लिइने कर्जामा समेत सहुलियत दिएको छ। डिजेल/पेट्रोलबाट चल्ने कारमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने व्यवस्था छ भने विद्युतीय सवारीमा २० प्रतिशतमात्र डाउन पेमेन्ट गरे हुने व्यवस्था रहेको छ। यसले पनि विद्युतीय सवारी खरिद गर्नेको संख्या बढेको हो।
४ सय किलोमिटर भन्दा बढी माइलेज दिने सवारी आइरहेकाले पनि उपभोक्ताहरु विद्युतीय सवारी खरिदमा आकर्षित भएका हुन्। नेपाली बजारमा हुन्डाईको आयोनिक र कोना, कियाको निरो र सोल इभी, एमजीको जेडएस इभी, महिन्द्राको इटुओ स्पोर्टस, दीगोको इलेक्ट्रिक कार लगायत विभिन्न ब्रान्डका इलेक्ट्रिक कार बजारमा उपलब्ध रहेका छन्। चीनबाट सबभन्दा धेरै बिजुली गाडी आयात हुने गरेको छ।
भन्सार विभागको तथ्याङक अनुसार चालू आवको ७ महिनामा १ अर्ब ५४ करोड ३१ लाख ७० हजार ४४ सय ७ रुपैयाँको बिजुली गाडी आयात भएको हो। गत वर्ष यही अवधिमा ६५ करोड ८६ लाख ९४ हजार ८० रुपैयाँको सवारी साधन आयात भएको थियो।
त्यस्तै गत वर्षको तुलनामा यो वर्ष समग्र सवारी साधनको आयातमा गिरावट आएको छ। विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको ७ महिनामा ५६ अर्ब ९८ करोड ११ लाख ३६ हजारको सवारी साधन आयात भएकोमा चालू आर्थिक वर्षमा ५२ अर्ब ३४ करोड ७४ लाख ७९ हजारको मात्र आयात भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको ७ महिनामा सवारी आयात ४ अर्व ३३ करोड ६५ लाख ७० हजारले कमी आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।