काठमाडौं– विश्वकै अर्थतन्त्रमा मन्दी आउने संकेतले विश्व बजारमा सुनको भाउ आकासिएको छ। युरोपका केही देशहरुमा मन्दीको संकेत देखिएको छ। जर्मनी, इटाली तथा ग्रिस आर्थिक मन्दीमा फसेका छन्। यो क्रम बिस्तारै युरोपका अन्य देशहरुमा देखा पर्दै जाने अनुमान गरिएको छ।
विश्वकै अर्थतन्त्र मन्दी देखा पर्न थालेपछि ठूला लगानीकर्ताहरुले सुन सञ्चित गर्न थालेको र सोहीकारण सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यले बताए। चीनमा फैलिएको कोरोना भाइरसका कारणले पनि विश्व अर्थतन्त्रमा प्रभाव पार्न थालेको छ।
भाइरसको संक्रमण कोरिया, अस्ट्रेलिया लगायतका देशमा फैलिँदै गर्दा यसले थप प्रभाव पार्ने देखिन्छ। अर्थतन्त्रमा मन्दी देखिन थालेपछि लगानीकर्ताहरुले कागजी नोटमा भन्दा सुनमा बढी विश्वास गर्छन्। सुरक्षित लगानीको रुपमा सुन किनेर राख्ने प्रचलन धेरै वर्षदेखि रहेको शाक्यले बताए।
सुन उत्पादनको प्रमुख राष्ट्र चीनमा सुन खानी बन्द हुँदा यसको असर बजार भाउमा परेको बजार विश्लेषक दिपेन्द्र बाँस्कोटाले बताए। विश्वमै सबैभन्दा धेरै सुन भित्र्याउने राष्ट्रमा चीन पर्छ। अहिले चीनको आफ्नै खानीहरु पनि बन्द भएको अवस्था छ।

सबैभन्दा धेरै सुन सञ्चिती गरिरहेको चीनले आफ्नै देशको उत्पादन भने विश्व बजारमा बिक्री गर्दैन। चीनपछि अहिलेको अवस्थामा सबैभन्दा धेरै सुन खरिद गर्नेमा भारत, रुस, जर्मनी छन्। आर्थिक मन्दीमा फस्दै गर्दा जर्मनीले रणनीतिक रुपमा विश्व बजारबाट सुन संकलन गरिरहेको शाक्यले बताए।
यससँगै ठूला लगानीकर्ताहरु अन्य क्षेत्रमा लगानी गर्नेभन्दा पनि सुनमै केन्द्रित भएका हुन्। विश्व बजारमा विगतका वर्षमा भन्दा केही फरक देखिएको शाक्यको विश्लेषण छ। जहिले पनि डलर कमजोर हुँदा सुनको भाउ बढ्ने र डलर बढ्दा सुनको भाउ सुधार हुने गरेको थियो। तर पछिल्लो समय डलरको भाउमा खासै परिवर्तन छैन। तर सुनको भाउ भने आकासिइरहेको छ। यसले विश्वको अर्थतन्त्रमा फरक किसिमको संकेतहरु देखापरिरहेको उनले बताए।

अर्का बजार विश्लेषक दीपेन्द्र बाँस्कोटाका अनुसार अर्थतन्त्र कमजोर हुँदा सुनको मागमा अस्वाभाविक रुपमा वृद्धि हुँदै गएको छ। यदि यसरी नै विश्वबजारमा सुनको माग बढ्दै जाने हो भने नेपालमा सुनको भाउ एक लाख रुपैयाँ नाघ्न सक्ने उनको विश्लेषण छ। तर चीनको अर्थतन्त्रमा केही सुधारको संकेत देखियो र सुन उत्पादन सुरु भयो भने मूल्य घट्ने उनले बताए।
विदेशी सञ्चार माध्यमले पनि सुनको भाउ आकासिनुमा सबैभन्दा प्रमुख कारण चीनमा फैलिएको कोरोना भाइरसलाई संकेत गरेका छन्। हाल विश्व बजारमा सुनको भाउ प्रति औन्स १६५५ डलरमा कारोबार भैरहेको छ।
फेब्रुअरी लागेसँगै सुनको भाउ लगातार बढिरहेकोमा मंगलबार भने प्रति औन्स ३५ डलरले करेक्सन भएको छ। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण केही नियन्त्रणमा आउने जनाएपछि मंगलबार सुनको मूल्यमा करेक्सन आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
विगत एक महिना अवधिमा सुनको भाउ प्रति औन्स ९५ डलरले बढेको छ। ६ महिनाको अवधिमा भने १५६ डलरले बढेको छ।

नेपालमा सुनको भाउ बढेपछि नयाँ कारोबार ठप्प
नेपाली बजारमा सुनको माग आउनै छाडेको शाक्यले जानकारी दिए। विगतका आएका अर्डरबाहेक नयाँ माग आउन छाडेको हो। सुनको भाउ ७० हजार नाघेपछि बजारमा किनबेच नै हुन छाडेको हो।
वाध्यात्मक रुपमा सुन किन्नै पर्नेले किने पनि अहिलेको अवस्थामा सुन किनेर राख्ने कोही पनि छैनन्। सुनको भाउ अझै बढेर एक लाख रुपैयाँ पुग्छ भनेर किन्ने अवस्था नभएको बाँस्कोटा बताउछन्। बाध्यात्मक रुपमा सुन खरिद गर्नु परे पनि दीर्घकालीन लगानीको रुपमा अहिले सुन किन्ने समय नभएको उनको सुझाव छ।
कोटाका आधारमा बैंकहरुले सुन ल्याउने र व्यवसायीलाई बिक्री गर्ने नियम छ। तर पछिल्लो समय कोटाबापत आउने सम्पूर्ण सुन बैंकमै थन्किएर बसेको छ। हाल बैंकहरु सँग सुन मौज्दात मात्रै ६ सय किलो रहेको शाक्यले बताए। बजार चलायमान हुँदा औसतमा बैंकहरु सँग दुई सय किलो सुन सञ्चिति हुन्थ्यो।
मंगलबार विश्व बजारमा सुनको भाउ घट्ने क्रम जारी छ। विश्व बजारमा सुनको भाउमा केही करेक्सन देखिँदा नेपाली बजारमा पनि तीन सय रुपैयाँले घटेको छ। सुन चाँदी व्यवसायी महासंघले सुनको बजार मूल्य ८० हजार रुपैयाँ तोकेको छ। बुधबार सुनको भाउ थप घट्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।