काठमाडौं- एकातिर रोजगारीको खोजीमा विदेसिने युवाहरुको लर्को लागिरहेको छ भने अर्कोतिर देशमा नै युवा जनशक्तिको खाँचो बढ्दै गइरहेको छ।
पछिल्लो समय दुग्ध व्यवसायमा युवा जनशक्तिको आवश्यकता बढ्दै गएको व्यवासायीहरुले बताएका छन्।
धुलो दूध आयातमा सरकारले प्रतिबन्ध लगाएसँगै नेपालमा विभिन्न सिजनमा दूध अभाव हुन थालेको छ। यसाे हुन नदिन ठूलो संख्यामा युवा जनशक्तिको खाँचो पर्दछ। ‘अहिले किसानहरुले दूधको मूल्य पाइरहेका छन्। पछिल्लो समय दुग्ध व्यवसायमा युवाहरुको आकर्षण बढ्दै गइरहेको छ‚’ डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारी भन्छन्।
‘प्रतिव्यक्ति ९० लिटर दूध उत्पादन हुनुपर्नेमा अहिले बढेर ८२ लिटर पुगेको छ, अझै ८ लिटर दूध अभाव छ‚’ उनले भने, ‘यही अभाव परिपूर्तिका लागि ठूलो संख्यामा युवाहरुलाई देशमा रोजगारीको अवसर छ।’
सरकारले यतातिर ध्यान पुर्याउने हो भने युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यकारी अवस्थामा कमी आउने उनको भनाइ छ।
‘अब मिल्क होलिडे मनाउनु पर्दैन, युवाहरुले ढुक्क भएर दुग्ध व्यवसायमा काम गर्ने वातावरण बनेको छ‚’ नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा भन्छन्।
उनले भने, ‘अब कृषकहरुले दूधको बजार भाउ नपाएर ‘मिल्क होलिडे’ मनाउनु पर्दैन।’
५ लाखलाई रोजगार
अहिले पनि दुग्ध व्यवसायमा करिब ५ लाख युवाहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको डेरी उद्योग संघले जनाएको छ।
पशुपालनदेखि डेरी सञ्चालन र विभिन्न क्षेत्रमा करिब ५ लाख जनशक्तिले काम पाएको संघका अध्यक्ष राजभण्डारीले बताए।
आइएलओसँगको सहकार्यमा यस वर्ष १२० लाई डेरीमा रोजगारी
अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) सँगको सहकार्यमा यस वर्ष डेरी उद्योगमा १ सय २० युवा जनशक्तिलाई रोजगारी प्रदान गरिएको राजभण्डारीले बताए।
उनले भने, ‘दुग्ध व्यवसाय बिस्तारै आत्मनिर्भरतातर्फ अगाडि बढ्दै गएको छ, यस वर्षमात्रै हामीले आइएलओसँग सहकार्य गरेर १ सय २० जना उच्च शिक्षा अध्ययन गरेका युवाहरुलाई डेरी उद्योगमा रोजगारी उपलब्ध गराएका छौं।’ यस वर्ष डेरी उद्योगमा डेरी टेक्निसियनहरुलाई समेत तालिम प्रदान गरी सीप विकासमा समेत जोड दिइएको उनले बताए।
देशमै केही गर्ने सोचले काम गरिरहेका युवाहरुको काममा सरकारले चासाे नदेखाएको व्यवसायीहरुको आरोप छ।
डेरी उद्योग संघका अनुसार १५ दिनमा ५ देखि ६ करोडको दूध कारोबार भइरहेको छ।
सरकारले पशुपालनमा युवालाई प्रोत्साहन गर्नुपर्ने
केद्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले दुग्ध व्यवसायमा युवाहरुलाई आकर्षित गर्न र युवा पलायन रोक्न पशुपालनमा प्रोत्साहन गर्नुपर्ने बताए।
‘विदेश पलायन भएका कति युवाहरु देश फर्किएर पशुपालन व्यवसायमा संलग्न हुन्छन् तर उनीहरुले आफ्नो कामको मूल्य पाउँदैनन् फेरि विदेश पलायन हुनुपर्ने अवस्था आउँछ‚’ उनी भन्छन्, ‘अब सरकारले युवाहरुलाई देशमै प्रोत्साहन गर्नकै लागि भए पनि धुलो दूध आयातमा प्रतिबन्ध फुकुवा गर्नुहुँदैन।’
धुलो दूध आयातमा प्रतिबन्धले केही समय अभाव सिर्जना भए पनि यसले कालान्तरमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
आयात प्रतिबन्धले युवाहरुले देशमै उत्पादन गरेको दूधले बजार भाउ पाउने हुँदा दुग्ध व्यवसायमा युवाहरु आकर्षित हुने उनी बताउँछन्।
यसअघि विदेशबाट धुलो दूध ल्याइँदा देशमा उत्पादन भएको दूधले बजार मूल्य पाउन नसकेपछि किसानहरु सडकमा दूध पोख्न बाध्य थिए। यही कारण कतिपय युवाहरु व्यवसाय नै छाडेर विदेसिन बाध्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।