काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सन् २०१९ मा १५ अर्ब २२ करोड रूपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक भएको छ।
वित्तीय विवरणअनुसार कम्पनीको अघिल्लो वर्ष अर्थात् सन् २०१८ को तुलनामा गत वर्ष २०१९ मा १९.६८ प्रतिशतले नाफा घटेको छ।
गत वर्ष कम्पनीले १८ अर्ब ९५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। गएको केही वर्षदेखि दूरसञ्चमर सेवा प्रदान गर्ने कम्पनीहरूको आम्दानीमा ठूलो गिरावट भैरहेको छ।
इन्टरनेटको व्यापकता र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दूरसञ्चार सेवा प्रदायकहरूको आम्दानीमा गिरावट आइरहेको छ। त्यसैको असर एनसेलको नाफामा पनि परेको हो।
मानिसहरूले फोनमार्फत भ्वाइस सेवा लिने भन्दा पनि सामाजिक सञ्जालमार्फत फोनको सुविधा लिन थालेपछि कम्पनीहरूको आम्दानीमा असर पर्न थालेको हो।
एनसेलले सन् २०१९ मा ५४ अर्ब तीन करोड रूपैयाँ आम्दानी गरेको छ। गत वर्ष कम्पनीले ५७ अर्ब ६७ करोड रूपैयाँ आर्जन गरेको थियो। कम्पनीको समग्र आम्दानी घटेसँगै नाफा पनि ओरालो लागेको हो।

माउ कम्पनी एक्जिएटाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उसका ७ वटा कम्पनीमध्ये सबैभन्दा कमजोर अवस्था एनसेल देखिएको छ।
एक्जिएटाले लगानी गरेका दूरसञ्चार कम्पनीहरू सेलेकम, एकएल एक्जिएटा, रोबी, डाइलग, स्मार्ट र इकोको कर अगाडिको नाफा, कर पछाडीको नाफा तथा समग्र आम्दानीमा सुधार देखिन्छ।
तर एनसेलको तीन वटै पक्ष घटेका छन्।


एक्जिएटाले अहिलेसम्मकै सबैभन्दा धेरे लाभांस प्रस्ताव गरेको छ।
कम्पनीले सन् २०१९ को नाफाबाट ८६ प्रतिशत लाभांस प्रस्ताव गरेको छ।
कम्पनीले गत वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा लाभांस पनि घोषणा गरेको हो।

एक्जिएटाको लगानी भएको रोबीले बंगलादेशमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
सन् २०२० भित्र प्राथमिक शेयर निष्काशन गरिसक्ने कम्पनीले जनाएको छ।
रोबीले बंगलादेशमा ५२ करोड ३७ लाख कित्ता शेयर निष्काशन गर्नेछ।
Caption
प्राथमिक शेयर निष्काशनपछि रोबीमा एक्जिएटाको हिस्सा ६१.८२ प्रतिशतबाट ६.८७ प्रतिशतले कमी आउनेछ।
नेपालमा एनसेलको स्वामित्व बिक्रीको पुँजीगत लाभकर अझै भुक्तानी भैसकेको छैन।
सर्वोच्च अदालतको केही समयअघिको फैसलाअनुसार एनसेलले सरकारलाई २२ अर्ब ६० करोड रूपैयाँ भुक्तानी गर्नुपर्नेमा अझै करिब १९ अर्ब रूपैयाँ भुक्तानी दिन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।