काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र श्रम सचिव बिनोद केसीसहितको टोली मंगलबार माैरिसस जाने भएको छ।
नेपाल र मौरिससबीच भएको श्रम समझदारीको कार्यान्वयनमो पाटो टुंगो लगाउन मन्त्री यादवसहितको टोली माैरिसस जान लागेको हो।
टोलीले समझदारी कार्यान्वयनको पाटो टुंग्याउन पहल गर्ने मन्त्री यादवका प्रेस सल्लाहकार विजय यादवले नेपाल लाइभलाई बताए।
अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको शतवार्षिकीका अवसरमा जेनेभा पुगेका तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले अफ्रिकी मुलुक माैरिसससँग श्रम समझदारीको पाटो टुंगो लगाएका थिए।
समझदारीको ८ महिना बितिसक्दा पनि कार्यान्वयनको टुंगो लाग्न सकेको छैन। दुई देशको संयुक्त कार्यदल (ज्वाइन्ट कमिटी)ले समझदारी कार्यान्वयनको पाटो टुंगो लगाउने बताए पनि जइन्ट कमिटीको बैठक बस्न सकेको थिएन।
माैरिससले समझदारी कार्यान्वयनको पाटो टुंग्याउन मन्त्री यादवलाई पत्राचार गरेपछि निमन्त्रणालाई स्वीकार गर्दै मन्त्री यादवसहितको टोली माैरिसस जाने भएको हो।
समझदारीअनुसार नेपालबाट रोजगारीको खोजिमा माैरिसस जाने कामदारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार हक अधिकार पाउनेछन्।
त्यहाँका नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक कामदारले पाउने व्यवस्था छ। कामदार भर्ना प्रक्रिया, टिकट तथा शुल्क रोजगारदाताले नै बेहोर्ने व्यवस्था समझदारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।