काठमाडौं- इटालियन अटोमोबाइल उत्पादक कम्पनीहरुको ग्रुप एफसिएअन्तर्गत रहेको न्यू हल्याण्डका उत्पादनहरु उत्कृष्ट मानिन्छन्। प्यासेन्जर कारदेखि निर्माण उपकरणसम्म बनाउने कम्पनीका इक्युपमेन्ट तथा ट्याक्टर नेपाली बजारमा समेत लामो सयमदेखि लोकप्रिय हुँदै आएका छन्।
एफसिएअन्तर्गतको सिएनएच इन्डिस्ट्रियलमार्फत न्यू हल्यान्डका हेभी इक्युपमेन्ट र न्यू हल्यान्ड एग्रिकल्चरले ट्याक्टर उत्पादन गर्दै आएको छ। यी दुवै ब्रान्ड एफसिएअन्तर्गत रहेका १४ कमर्सियल ब्रान्डभित्रै पर्छन्।
न्यू हल्यान्डको प्लान्ट भारतको ग्रेटर नोयडामा समेत रहेको छ। नोयडामा रहेको प्लान्टबाट ट्याक्टर तथा ५० देखि १५० बिएचपीसम्मका इन्जिन उत्पादन हुँदै आएको छ। न्यू हल्यान्डले नोयडामा रहेको प्लान्टबाट ३५ बिएचपीदेखि माथीका ट्याक्टर समेत उत्पादन गर्छ।
कम्पनी आफैंले सोही प्लान्टबाट ५० बिएचपीभन्दा कमको इन्जिन नबनाउने भएकाले इन्जिन आयात गरेर ट्याक्टर बनाउँदै आएको छ।
न्यू हल्यान्डका ट्याक्टर तथा इक्युपमेन्ट ७० भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। न्यू हल्यान्ड एग्रिकल्चर भारतमा १९९६ मा स्थापना भएको थियो भने त्यसको दुई वर्षपछि अर्थात् १९९८ मा पहिलो पटक ७० एचपीको ट्याक्टर बजारमा ल्याएको थियो।
कम्पनीले उक्त प्लान्टबाट उच्च प्रविधिसहितको ३५ देखि ९० एचपीका ट्याक्टर भारतीय बजारमा बिक्री गर्दै आएको छ भने त्यो भन्दा बढी एचपीका ट्याक्टर निर्यात गर्दै आएको छ।
न्यू ल्यान्डको इन्जिन समेत उत्पादन गर्ने उक्त प्लान्टले लगातार तेस्रो पटक म्यानुफ्याक्चरिङ एक्सिलेन्स अवार्ड पाइसकेको छ। त्यस्तै सो प्लान्टले इन्टरनेशनल रिसर्च इन्स्टिच्युट फर म्यानुफ्याक्चरिङ (आइआरआइएम)ले नेशनल अवार्डस् फर म्यानुफ्याक्चरिङ कम्पिटेटिभसने अवार्ड पाएको थियो।
न्यू हल्यान्डको उक्त प्लान्टबाट ७ मिनेटमा एउटा ट्याक्टर उत्पादन हुँदै आएको छ। सो प्लान्ट दैनिक चौबिसै घण्टा सञ्चालन भइरहेको छ। प्लान्ट तीन सिफ्टमा सञ्चालन भइरहेको छ। त्यस्तै प्लान्टमा दैनिक सयभन्दा बढी इन्जिन उत्पादन हुँदै आएको छ।
प्लान्टमा इन्जिन परीक्षणका लागि अत्याधुनिक मेसिन जडान गरिएको छ। जसले इन्जिनमा कुनै समस्या भए/नभएको, इन्जिनले तोकिएअनुसार पावर तथा टर्क उत्पादन गरे/नगरेको र प्रदूषणको मात्रा तोकिएअनुसार आए/नआएको जानकारी दिन्छ।
यसरी परीक्षण गरिएको इन्जिन मेसिनमा जडान गरेपछि कुनै समस्या नआउने कम्पनीको भनाइ छ।
नेपाली बजारमा न्यू हल्यान्डका ट्याक्टर भुसाल मोटर्स र हेवी इक्युपमेन्ट राशी अटोमोबाइल्सले बिक्री गर्दै आएको छ। राशी अटोमोबाइल्सअन्तर्गत १६ स्थानमा डिलरहरु स्थापना गरी सञ्चालन गरिनेछ र हाल ९ स्थानमा डिलरहरु स्थापना भई सञ्चालनमा आइसकेका छन्।
नेपालभर रहेका उक्त डिलरहरुबाट न्यु हल्याण्ड कन्स्ट्रक्शन इक्वीप्मेन्टका ब्याक्हुलोडर, सोइल कम्प्याक्टर, भाइब्रेटर रोलर, टेण्डम रोलरलगायत इक्वीप्मेन्टहरु खरिद गर्न र बिक्रीपछिको सेवा प्राप्त गर्न सकिने राशी अटोमोबाइल्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।