काठमाडौं- सोमबार दोस्रो बजारमा सामान्य करेक्सन देखिएको छ। आइतबार ६९ अंकले सुधार भएको शेयर बजारमा सोमबार १.९६ अंकले करेक्सन देखिएको हो।
कारोबार सुरु हुने बित्तिकै केही सुधार देखिए पनि गएका दिनमा शेयर खरिद गरेकाले नाफा बुक गर्न खोज्दा अधिकांश समय शेयर बजार रातो देखिएको थियो।
आइतबार इतिहासकै सबैभन्दा धरै कारोबार भएकोमा सोमबार दोस्रो ठुलो कारोबार भएको छ। आतबार तीन अर्ब ६० करोड रुपैयाँको कारोबार भएको थियो।
सोमबार २० करोड रुपैयाँले घटेर तीन अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ।
दोस्रो बजारमा एकै पटक ठुलो अंकले बढ्नु या घट्नुलाई खतराको संकेत मानिन्छ। बजार सुधार भएको भन्दै हौसिएर अर्बौको कारोबार हुन्छ। तर‚ केही दिनमै उक्त बजार पुरानै लयमा फर्किँदा धेरै लगानीकर्ताहरु फस्ने सम्भावना पनि उत्तिकै हुन्छ।
अधिकांश सूचकहरुमा गिरावट देखिए पनि बैंकिङ, उत्पादन तथा प्रसोधन र अन्य सूचक हरियो देखिएका छन्। बैंकिङ क्षेत्र हरियो देखिएकोले सेन्सेटिभ इन्डेक्स सुधार देखिएको छ। यस सूचकमा अधिकांश कम्पनी बैंकिङ क्षेत्रका छन्।
सोमबार १० करोडभन्दा माथिको कारोबार हुने ७ वटाको मात्रै ८८ करोड रुपैयाँको खरिद बिक्री भएको छ। एनएमबी बैंक एक्लैको २० करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ।
त्यस्तै शिवम् सिमेन्टको शेयर मूल्य सुधार भएर ६७७ रुपैयाँ पुगेको छ। साथै दोस्रो बजारमा १३ करोड रुपैयाँको कारोबार भएको छ।
कालिका माइक्रोक्रेडिट मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको शेयर बढ्ने क्रममा सर्किट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।