काठमाडौं– सरकारले नेपालका डेरीमा प्रयोग हुने धुलो दूध आयातमा रोक लगाएको डेढ वर्ष बितिसकेको छ।
धुलो दूध आयातका कारण नेपालमा उत्पादन भएको दूध सडकमा पोख्नु पर्ने अवस्था सिर्जना भएको भन्दै तत्कालीन कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले गत वर्षको साउन १ गतेदेखि धुलो दूध आयातमा पूर्ण रोक लगाएका थिए।
त्यसयता किसानहरुले मूल्य नपाएर सडकमा दूध पोख्नुपर्ने अवस्था आएको छैन। तर यो हिउँदमा नेपालमा उत्पादित दूधले मात्रै माग पूर्ति गर्न नसकिने व्यापारीहरु बताउँछन्।
यतिबेला धुलो दूध आयातमा प्रतिबन्ध फुकुवा हुनुपर्ने भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र विभिन्न शक्ति केन्द्रहरुमा व्यापारीहरु धाइरहेको स्रोतले जनाएको छ। धुलो दूध आयातमा प्रतिबन्ध लगाइए पनि अवैध रुपमा धुलो दूध लुकिछिपी आयात भइरहेको सरकारी अधिकारीहरुले नै बताउने गरेका छन्।
पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरुले कृषि मन्त्रालयले नै धुलो दूध आयात प्रतिबन्ध फुकुवाको तयारी गरिरहेको समाचार सम्प्रेषण गरिरहेका छन्।
तर कृषि मन्त्रालयले धुलो दूध आयात फुकुवाको तयारी नगरेको बताएको छ।
कृषि मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत प्रदीपचन्द्र भट्टराईले धुलो दूध आयात फुकुवाका सम्बन्धमा मन्त्रालयको तयारी भनेर हल्ला गरिएको बताए।
‘धुलो दूध आयात फूकुवा गर्ने वा नगर्ने भन्ने विषयमा मन्त्रालयमा कुनै औपचारिक छलफल भएको छैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।