काठमाडौं- भारत भ्रमणको अघिल्लो दिन प्रधानमन्त्री केपी ओलीसँग संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर फोरम अध्यक्ष यादवले भेट गरेका हुन्। भेटका क्रममा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि शुभकामना दिएको फोरम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल लाइभलाई बताए।
मन्त्रालयको विषयमा कुरा नमिल्दा सरकार विस्तारमा सहभागी नभएको फोरमले प्रधानमन्त्री भारत भ्रमणमा निस्कनुअघि भेट गरेको हो।
बालुवाटार स्रोतका अनुसार, बैठकमा नयाँ सरकारमा फोरमको सहभागिताको विषयमा समेत छलफल भएको थियो। भारतको तीनदिने राजकीय भ्रमणबाट फर्किएपछि सरकार विस्तारको विषयमा थप छलफल गर्ने प्रधानमन्त्री ओलीले फोरमका नेताहरुलाई बताएका थिए।
भेटपछि फोरम अध्यक्ष यादवले प्रधानमन्त्रीसँग गोप्य वार्ता भएको बताउँदै कुरा खोल्न नमिल्ने बताए।
शहरी विकास तथा खानेपानी सरसफाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय लिएर सरकारमा जाने तयारी गरेको फोरम पछि सरकारको कदमप्रति असन्तुष्ट बनेको थियो। सरकारले शहरी विकास
मन्त्रालयलाई फुटाएर खानेपानी तथा सरसफाइ मन्त्रालय बनाएपछि प्रधानमन्त्रीसँग फोरम रुष्ट छ।
फोरमले फुटेको शहरी विकास मन्त्रालय नलिने बताउँदै सूचना तथा सञ्चार मन्त्रालय दिन आग्रह गर्दै आएको छ।
पछिल्लो समय पार्टी एकता प्रक्रियामा एमाले र माओवादी व्यस्त भएपछि सरकारमा फोरमको सहभागिता अन्यौलमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।