काठमाडौं- आइतबार दोस्रो बजारमा इतिहासकै सबैभन्दा बढी कारोबार भएको छ। नेप्से सूचक ६९.५६ अंकले सुधार हुँदा कारोबार रकम तीन अर्ब ६० करोड रुपैयाँ पुगेको छ। २०७३ साउन ११ गते दुई अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको थियो। यस करोबारलाई गत बिहीबारकै कारोबारले उछिनेको थियो।
नयाँ रेकर्ड बनाउने क्रममा आइतबार अझ धेरै ठूलो रकमको अन्तरमा रेकर्ड बनाएको हो। नेप्से सूचक ४.८५ प्रतिशतले सुधार भएर १५०४.१४ अंकमा पुगेको छ। सूचक पनि साढे दुई वर्ष अगाडिकै अवस्थामा पुगेको छ। २०७३ कात्तिकमा वाम गठबन्धन भएसँगै सेयर बजार १६०० को अंकबाट तल झर्न थालेको थियो।
अर्थमन्त्री हुँदा घटेको बजार रिकभर भएर वाम गठबन्धनका कारणले घटेको अंक पनि रिकभर हुने संकेत देखिएको छ। विगत तीन वर्षदेखि रोकिएर बसेको बाँध फुटेझैँ सेयर बजारमा पनि तीन वर्षदेखि सुधार हुन नसकेको बजारमा एकाएक सुधार हुन थालेको बजार विश्लेषकहरू बताउछन्।
आइतबार सबैभन्दा धेरै व्यापारको सूचक ८.२५ प्रतिशतले सुधार भएको छ। सबैभन्दा धेरै शेयर हिस्सा रहेको बाणिज्य बैंककै सूचक ७.१५ प्रतिशतले सुधार हुँदा बजारमा उछाल आयो। सम्पूर्ण सूचक तथा उपसूचकमा सुधार देखिए पनि २५ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ। ती कम्पनीहरुमा अधिकांश हाइड्रोपावर छन्।
चार वटा कम्पनीको कारोबार मात्रै झन्डै ४५ करोड रुपैयाँको भएको छ। एनएमबी बैंकको शेयर मूल्य बढ्ने क्रममा सर्किट लाग्दा १२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ। आइतबारको कारोबारबाट वाणिज्य बैंकका शेयरधनी सबैभन्दा बढी लाभान्वित भएका छन्।
राष्ट्रियसभामा राष्ट्रपति विद्यादेवी भण्डारीले वामदेव गौतम ल्याउने चर्चा सँगै अर्थमन्त्री खतिवडा नदोहोरिने चर्चाले दोस्रो बजारमा उछाल आएको छ। खतिवडाको फोटो देख्दा पनि तर्सिने लगानीर्ता उनि हट्ने चर्चा सँगै दोस्रो बजारमा नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ।
राष्ट्रियसभामा दुई वर्ष अवधिका खतिवाडलाई बाँकी अवधिमा समावेश नगराए सँगै शेयर बजार सुधार हुन थालेको थियो। तर खतिवडालाई राष्ट्रपतिले थप्ने सम्भावना बाँकी नै थियो। यस अवधिमा खतिवडाको छायाँ लगानीकर्ता माझबाट हटिसकेको थियो।
शनिबार वामदेबको चर्चा चले सँगै शेयर बजारमा एकाएक उछाल आयो। यसका पछाडि वित्तीय अनुसासनमा कडा खतिवडा हटेसँगै केही व्यापारी तथा लगानीकर्ताहरुले बजारमा चलखेल गर्न सकिने आँकलन गरिरहेको विश्लेषकहरु बताउँछन्।
कर तथा अन्य वित्तीय अनुसासनमा कडाइका साथ उभिने खतिवडाका अगाडि व्यापारी तथा अन्य लगानीकर्ता निरिह थिए। व्यापारीका जस्ता पायो त्यस्तै एजेण्डामा इन्टरटेन नगर्ने खतिवडा उनिहरुका लागि प्रिय थिएनन्।
यसको असर शेयर बजारमा पनि देखापर्यो। उनी आएलगत्तै पुँजीगत लाभकर बढाइदिएका थिए। देश विकास गर्नु पर्ने राज्यको अहिलेको प्राथमिकता अगाडि मार्जीन प्रकृतिका कर्जालाई न्युनिकरण गर्दै उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने उनको धारणा थियो।
तर दलाली प्रकृतिको अर्थव्यवस्थामा उनको धारणा लगानीकर्ताहरुको लागि पाच्य भएन। दोस्रो बजारमा लगानी गरेर पैसा काउने कार्यलाई अनुत्पादनमुलक क्षेत्रको संज्ञा दिने अर्थमन्त्रीलाई लगानीर्ताहरुले लामो समयसम्म खेदिरहे।
शेयर बजारलाई जुवाघरको संज्ञा दिने डा. बाबुराम भट्टराईसँग तुलना गर्दै खतिवडालाई शेयर बजारका कारोबारीले राम्रो रूपमा लिन सकेनन्। लगानीकर्ताहरुले उनको लगातार विरोध गरेपछि उनी आफै केही सुधारिएर भाषण दिन बाध्य भए।
यससँगै दोस्रो बजारमा उच्च बैंकिङ ब्याजदरको प्रभाव लामो समयसम्म पर्यो। एकातरि बजार नकारात्मक अर्को तर्फ बैंक व्याजदर उच्च भएपछि लगानीकर्ताको ध्यान बैंक ब्याजदरमै देखियो।
केही हदसम्म लगानीकर्ताहरु कम्युनिष्ट सरकार प्रति ससंकित थिए। कम्युनिष्ट सरकारले सम्पत्ती नै हडपिदिने हो कि भन्ने किसिमको मानसिकता लगानीकर्ता हुँदा बजारमा ठूलो प्रभाव पारेको बजार विश्लेषक बलराम रिमाल बताउँछन्।
कम्युनिस्ट सरकारले पैसा हडप्ने भन्ने एक किसिमको डर विस्तारै कम भए पछि लुकाएर राखेका पैसा पनि बाहिर आउन थालेको रिमालको विश्लेषण छ। विगत तीन वर्षमा लगानीकर्ताको मनोविज्ञान धेरै नै गिरेको थियो। मनोविज्ञान बढ्छ भन्ने भए सँगै लगानीकर्ताहरुक बजार प्रवेश गर्न थालेको बजार विश्लेषक अम्बिका पौडेलले बताए।
राजनीतिक तथा प्राविधिक विश्लेषणका आधारमा गएका दिनमा शेयर बजार धेरै नै झरेको थियो। अव ति सबै अवस्था सुधार भएको पौडेलको तर्क छ। अवका दिनमा कुनै पनि लगानीकर्ताहरुले घाटा खानु नपर्ने अवस्था देखेकाले पनि बजारमा उत्साह देखिएको उनले बताए।
बजार सुधार हुनुका प्रमुख १३ कारण
१. लगानीकर्ताले नरुचाएका अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने हल्ला।
२. बैंकको व्याजदर क्रमश घट्दै जानु
३. बैंकहरुले मार्जीन प्रकृतीका कर्जा दिन थालेका छन्।
४. बैंकमा व्याज खानु भन्दा शेयरमा लगानी गर्दा उच्च प्रतिफल पाउने लगानीकर्ताको विश्लेषण
५. बजारका पुराना लगानीकर्ताहरु पनि ठुलो रकम लिएर बजार प्रवेश गरेका छन्
६. ठुला लगानीकर्ता विचमै अव बजार नछिरेमा पछाडि परिन्छ भन्ने मानसिकता हाबी भएको छ
७. अहिलेकै अवस्थामा बजार प्रवेश गर्दा पनि एकोहोरो फाइदा हुने विश्लेषण
८. बजार सुधार हुने हल्लाले बजारै नबुझेका लगानीकर्ताहरुले पनि लगानी गर्न थालेका छन्
९. अर्थमन्त्रीकै निर्देशनका नागरिक लगानीकोष तथा कर्मचारी सञ्चयकोले यसै अवधिमा ठुलो संख्यामा शेयर उठाउदा सप्लाइ नियन्त्रणमा राम्रो भुमिका निर्वाह गर्यो
१०. म्युचुअल फण्डले तीन महिना अगाडि सम्म ७/९ अर्ब रुपैयाँ बैंकमै निक्षेप जम्मा गरेर राखेका थिए। उनिहरुले उक्त पैसा शेयर बजारमा लगानी गर्न थालेका छन्
११. पुराना लगानीकर्ताहरुको पोर्टफेलियो सुधार हुन थाले सँगै उनिहरु पुरानो पोर्टफेलियो शेयर कर्जा लिएर नयाँ लगानी थप्न थालेका छन्
१२. लगानीकर्ता तथा ब्रोकरमा बजार सुधार हुने एकोहोरो मानसिकता हाबी भयो।
१३. अनलाइन प्रणालीका कारण लगानीकर्ता आफैले कारोबार गरिरहेका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।