काठमाडौं- आन्तरिक राजस्व विभागले बिहीबार र शुक्रबार कर कार्यालयका प्रमुखहरुसँग समीक्षा छलफल गर्योड। समीक्षा बैठकमा उपस्थित अर्थमन्त्री डा युवराज खतिवडा र अर्थसचिव शिशिरकुमार ढुंगानाले कार्यालय प्रमुखहरुलाई भने, 'करको दायरा बढाउने गरी काम गर्नुस्।'
समीक्षा बैठकमा अर्थमन्त्री खतिवडाले राजस्व संकलनको लक्ष्य भेट्टाउन करको दायरा विस्तार, अनुसन्धान एवं बजार अनुगमन बढाउन निर्देशन दिएका थिए। उनले राजस्वको दायरा बाहिर अझै धेरै कारोबार रहेको भन्दै त्यस्ता व्यवसायलाई दायराभित्र ल्याउने गरी काम गर्न आग्रह गरे।
समीक्षा बैठकमा उपस्थित एक कर अधिकृतका अनुसार मन्त्री खतिवडाले चालु आर्थिक वर्षमा सरकारले लिएको राजस्वको लक्ष्य भेट्टाउन तथा राजस्व क्षेत्रमा सरकारले गरेका नीतिगत सुधारका कामलाई तीव्र गतिमा अघि बढाउन पनि निर्देशन दिए।
यसैगरी अर्थसचिव ढुंगानाले विभाग र कार्यालयका काम परम्परागत ढंगबाट मात्रै अघि बढाउन उपयुक्त नहुने बताए। उनले प्रविधिको प्रयोगमा कर्मचारीले जोड दिनुपर्ने पनि उल्लेख गरे। 'सरकारले विद्युतीय भुक्तानीमा मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता गर्ने काम अघि बढाएको छ, अब यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुस्,' सचिव ढुंगानाले समीक्षा बैठकमा भने।
समीक्षा बैठकमा मन्त्री र सचिव दुवैले मूल्य अभिवृद्धि करको प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमनमा जोड दिन निर्देशन दिएका थिए। उनीहरु दुवैले मूल्य अभिवृद्धि करको आधार नै आयकरको आधार बलियो बनाउने भएकाले त्यसैको प्रभावकारितामा जोड दिए।
कार्यक्रममा कर कार्यालयका प्रमुखहरुले विभिन्न निकायको अनावश्यक हस्तक्षेपले त्रासको वातावरण बढ्न थालेको भन्दै काममा त्यसले प्रभाव पारेको बताएका थिए। उनीहरुले बजार अनुगमन तथा अनुसन्धान गर्दा विभिन्न निकायबाट दबाब आउने गरेको उल्लेख गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।