काठमाडौं- शेयर बजारमा ठूला लगानीकर्ता छिर्दा अर्बौ रुपैयाँको कारोबार हुन थालेको छ। बिहीबार दोस्रो बजारमा इतिहासकै सबैभन्दा धेरै दुई अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ।
धेरै कारोबार ठूला लगानीकर्ता छिरेरमात्रै सम्भव हुने बजार विश्लेषक निरञ्जन टिवरेवालले बताए।
'साना तथा ठूला लगानीकर्ताहरु 'अहिले शेयर नकिने पछि परिन्छ' भन्दै सकेको शेयर उठाउन थालेका छन्। बजारबाट 'डिप्रेस' भएका लगानीकर्ता सुधारको संकेतसँगै पैसा लिएर बजार प्रवेश गरेका छन्,' उनले भने, 'तीन वर्षदेखि रोकिएको बाँध फुट्दा शेयर बजारमा बाढी आयो। यसले अब शेयर बजारको अहिलेसम्मकै अधिकतम विन्दुलाई तोड्ने छ।'
विगतमा पैसा भएका लगानीकर्ताहरु पनि डरले बजार प्रवेश गर्न सकेका थिएनन्। तीन वर्षसम्म रोकिएको बाँध फुटेसँगै एकाएक शेयर बजारमा बाढी आएको बजार विश्लेषक टिवरेवाल बताउँछन्। उनले भने, 'तीन वर्षदेखि रोकिएको बाँध फट्दा शेयर बजारमा बाढी आयो। यसले अब शेयर बजारको अहिलेसम्मकै अधिकतम विन्दुलाई तोड्ने निश्चित छ।'
बजार यति नै अंकमा पुग्छ भन्ने भन्दा पनि बजार सुधार हुने आधारहरु एकैपटक आउँदा बजारको रोकिएको बाँध फुट्न सकेको उनले बताए। बजारमा बैंकिङ तरलता विस्तारै सहज हुदै जानु, सरकारले आफ्नो निकटको व्यक्तिलाई धितोपत्र बोर्ड अध्यक्ष बनाएर बजार सुधार हुने नीति ल्याउनु, कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले स्टक डिलरको रुपमा शेयर किन्न थाल्नु जस्ता कारणले बजारलाई बढ्न प्रेरित गरेको उनको विश्लेषण छ।
'पछिल्लो समय अनलाइन प्रणालीको प्रयोगकर्ता बढ्दै जादा कारोबार रकम पनि बढिरहेको छ। जसले गर्दा अबको समय अधिकतम कारोबारको रेकर्ड दिनदिनै तोडिने देखिन्छ,' टिवरेवाल भन्छन्।
नेपाल लाइभसँगको अन्तर्वार्तामा ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले अबको केही समयमा दोस्रो बजारमा चार-पाँच अर्बको कारोबार सामान्य हुने बताएका थिए।
राजनितिक तथा आर्थिक वृत्तमा देखिएका काला बादल हट्दै गएकाले पनि शेयर बजारमा सुधार भएको विश्लेषकहरु बताउँछन्। प्राविधिकरूपमा पनि शेयर बजार सुधार हुने बेला आएको बजार विश्लेषक दिलिप मुनाकर्मीको विश्लेषण छ।
तीन-तीन वर्षमा नेपालको शेयर बजारमा बुलिस र बियरको साइक्लिङ हुने गरेको पाइन्छ। तीन वर्षसम्म बियरिस ट्रेण्डमा रहेको शेयर बजार अबको तीन वर्षसम्म बुलिस हुने प्राविधिक विश्लेषणले पनि बजार सुधारका लागि सपोर्ट गरेको उनको तर्क छ।
तीन वर्षदेखि बैंकिङ क्षेत्रमा तरलता अभाव र राजनैतिक अविश्वास थियो। वामपन्थी सरकारसँग डराएका लगानीकर्ताहरु केही समयदेखि डराउन छाडेको बजार विश्लेषक मुनाकर्मीले बताए। शेयर बजारले कम्युनिष्ट सरकारलाई खासै रुचाउँदैन।
नेकपा एमाले र नेकपा माओवादीले २०७४ कात्तिकमा सँगसँगै चुनामा जाने सम्झौतापछि शेयर बजार १६ सय अंकबाट १४ सय अंकको हाराहारीमा झरेको थियो। त्यतिबेला दुई बलिया कम्युनिष्ट पार्टी एकीकरणसँगै नेपालमा कम्युनिष्ट शासन सुरु हुने विश्लेषण गरियो। यसले लगानीकर्तामा डर पैदा भयो।
यसै अवधिमा दुई तिहाइ बहुमत सरकार पनि आयाे। कतिपयले अब ५ वर्ष स्थिर सरकार आउछँ, अर्थतन्त्र सुधार हुन्छ त्यसैले शेयर बजारमा पनि केही सुधार आउछ भन्दै विश्लेषण गरेका थिए। तर कतिपयले कम्युनिष्ट सरकारको काम कारबाही र उनीहरुले ल्याउने बजेट नीति तथा कार्यक्रमका आधारमा बजारको बजार अगाडि बढ्ने विश्लेषण गरेका थिए।
झण्डै दुई तिहाइ बहुमतको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले डा युवराज खतिवडालाई अर्थमन्त्री नियुक्त गरे। तर बजारले खतिवडालाई खासै रुचाएन। उनी अर्थमन्त्री भएकै दिन भारी अंकले शेयर बजारमा गिरावट आयो।
अर्थमन्त्री भएको केही दिनमा उनले शेयर बजार अनुत्पादक क्षेत्र भएको अभिव्यक्ति दिए। त्यसपछि उनलाई शेयर बजारका लगानीकर्ताले चर्को विरोध गरे। विरोधसँगै शेयर बजार १४ सयको लाइनबाट ११ सयको लाइनमा तल झर्याे।
उनले सार्वजनिकरूपमा दिएको भाषणले पनि शेयर बजारलाई प्रभावित पार्ने अवस्था बन्यो। तर लगानीकर्ताहरुको चर्को आन्दोलनपछि उनले शेयर बजारका विषयमा सुधारिएको भाषण गर्न थालेका थिए। सञ्चार माध्यममार्फत लगानीकर्ताका संघ संस्थाले खुलेर विरोध गरेपछि उनले बजार सुधारका लागि कुनै कसर नराख्ने बताए।
उनले शेयर बजारका लागि नीतिगत सुधार गर्ने भन्दै धेरै पटक सार्वजनिक अभिव्यक्ति नै दिनुपर्याे। कर्मचारी सञ्चय कोषको वार्षिकोत्सवमा खतिवडाले शेयर किन्ने बेला यही हो किनेर राख्नुहोस्र भनेर लगानीकर्तालाई हौसला नै दिए।
त्यसैदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ठूलो मात्रामा शेयर खरिद गरिदिन अनुरोध नै गरे। यसै क्रममा शेयर बजारका लागि धेरै सुधारका काम पनि भए।
बजारले कडा रुपमा लिएका अर्थमन्त्री पनि आन्दोलन गर्याे भने पछाडि हट्ने रहेछन् भन्ने सन्देश बजारमा प्रवाह भएसँगै उनि प्रतिको डर विस्तारै कम हुँदै गएको बजार विश्लेषक मुनाकर्मीले बताए।
उनले भने, 'खतिवडाले पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत पुर्याए तर लगानीकर्ताहरुले आन्दोलन गरेपछि ५ प्रतिशतमा झार्न बाध्य भए।' यसपछि लगानीकर्ताहरुमा खतिवडाले बजारलाई असर पर्ने गरि केही गरिहाले पनि आन्दोलन गर्याे भने पछाडि हट्दा रहेछन् भन्ने कन्फिडेन्स बढेको मुनाकर्मी बताउँछन्।
बलियो कम्युनिष्ट सरकारको रुपमा लिइएको ओली सरकार एकपछि अर्को गर्दै विवादमा पर्न थालेपछि लगानीकर्ताहरुमा कम्युनिष्ट सरकारको 'ह्याङओभर' सकिएको एक बजार विश्लेषकले बताए। ती विश्लेषकले भने, 'विगत जसरी कम्युनिष्ट सरकार भनेर डराउने अवस्था थियो अब यो सरकारले कम्युनिष्ट चरित्र नदेखाउने पुष्टि भयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।