काठमाडौं- नेपालले सुरक्षित सडकका लागि ८७ करोड ९० लाख अमेरिकी डलर अर्थात करिब १ खर्ब रुपैयाँ अतिरिक्त लगानी गर्नुपर्ने विश्व बैंकले औंल्याएको छ। विश्व बैंकले हालै सार्वजनिक गरेको नयाँ प्रतिवेनमा यस्तो उल्लेख गरिएको छ।
सडकलाई सुरक्षित बनाउन दुर्घटना नियन्त्रणसम्बन्धी विभिन्न उपायमा उक्त लगानी आवश्यक भएको ठहर विश्व बैंकको छ। स्विडेनको स्टक होममा ‘थर्ड ग्लोबल मिनिस्टेरियल कन्फ्रेन्स अन रोड सेफ्टी’ प्रतिवेदनमा एसियाका देशहरुमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या अत्याधिक रहेको उल्लेख छ। भुटान, बंगालादेश, भारत र नेपालमा सडक सुरक्षा कार्यक्रममा प्रणालीगत लगानी न्यून रहेकाले सडक दुर्घटनामा मृत्युको संख्या धेरै भएको प्रतिवेदनमा औंल्याइएको छ।
आर्थिक वर्ष सन् २०१७/१८ मा नेपालमा प्रति १ लाख मानिसमा सडक दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको संख्या ८.५९ रहेको थियो। दक्षिण एसियामा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा बढेकाले व्यक्तिगत सवारी प्रयोगकर्ताको संख्यामा समेत व्यापक वृद्धि भएको छ। त्यही अनुपातमा सडक सुरक्षामा लगानी कम हुँदा सडक दुर्घटनामा घाइते हुने र मृत्यु हुनेको दर बढेको विश्व बैंक दक्षिण एसियाका उपप्रमुख हार्टविङ सेफरको भनाइ छ।
सडक सुरक्षामा लगानी कम हुँदाहुँदै पनि यो क्षेत्रका देशहरुले आफ्ना नागरिकको सुरक्षाका लागि चालेका कदम र सम्वृद्धिका लागि देखाएको अग्रसरता सराहनिय भएको उनले बताए। दक्षिण एसियामा बढ्दै गएको जनसंख्या, सवारीको संख्यामा वृद्धिलगायतका कारणले सुरक्षित सडक तथा यात्राका लागि क्षेत्रिय समन्वय र नेतृत्वदायी भूमिका आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सडक सुरक्षालाई मध्यनजर गर्दै क्षेत्रिय ट्रेड करिडोरहरुको विकासमा जोड दिनुपर्ने औंल्याइएको छ। क्षेत्रिय करिडोरहरुमा प्रयोग गरिएको सडक सुरक्षा अवस्थाले राष्ट्रिय राजमार्गहरुको अवस्थाबारेसमेत दर्शाउने छ।
भारत, बंगालादेश र नेपालका राजमर्गमा भएका दुर्घटनाको नमूना संकलन गरी गरिएको सर्भेअनुसार प्रतिकिलोमिटर मृत्यु दर खतरापूर्ण रहेकोे देखिएको छ। राजमार्गमा प्रतिकिलोमिटर ० दशमलव ८७ जना मानिसको मृत्यु भएको उक्त सर्भेले देखाएको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ।
दुर्घटना न्यूनिकरणका लागि दक्षिण एसियाली मुलुकहरुले क्षेत्रिय रुपमा दुर्घटनाको डाटा म्यानेजमेन्ट र विश्लेषण प्रणाली सेयर गर्नु उपयुक्त हुने सुझाव दिइएको छ। प्रतिवेदनले दक्षिण एसियाली मुलुकहरुलाई एसिया तथा प्यासिफिकलाई क्षेत्रिय सडक सुरक्षाबारे अवगत हुन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।