काठमाडौं- जसको अडियोको कारण गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भए, उनै विजय मिश्रिवरुद्ध सार्वजनिक लेखा समितिका सांसद्हरू भने रिसाए।
यस अगाडिको सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षित मुद्रण मेसिन) खरिद तथा स्थापनाका विषयमा छलफलमा लेखा समितले उनलाई विज्ञ भनेर बैठकमा बोलाएको थियो। उनै मिश्रविरुद्ध समितिले बिहीबार कारबाहीको माग गर्दै प्रहरीलाई पत्र काट्यो।
पत्र काट्नुको कारण समितिका सांसदहरूको चरित्र हत्या हुने गरी सञ्चारमाध्यममा टिप्पणी गरेको समितिको पत्रमा उल्लेख छ।
मिश्रले बिहीबारको लेखाको बैठकले प्रिन्टिङ प्रेस खरिदको अनुमति दिने तयारी गरेको सूचना आएपछि बाध्य भएर अडियो सार्वजनिक गरेको दाबी गरेका थिए।
सञ्चार माध्यममा समितिका सांसदविरुद्ध नकारात्मक टिप्पणी गरेकै आधारमा साइबर क्राइमको मुद्दा लगाउन खोज्ने समितिको प्रयासले मिश्रसँग समितिका सांसदहरू रिसाएको देखिन्छ।
समितिले प्रहरीको साइबर क्राइममा कारबाहीका लागि पठाएको पत्रमा मिश्रसँगै प्रशान्त किशोर उपाध्यायलाई समेत कारबाहीको माग गरिएको छ।
उपाध्यायले फेसबुकमा समितिका सांसदको तस्बिर राखेर फेसबुकमा नकारात्मक टिप्पणी गरेको थिए। प्रिन्टिङ प्रेसबारे समितिको बैठक बसिरहेकै बेला प्रशान्तले फेसबुकमा समितिका सांसदविरुद्ध लेखेपछि समितिले साइबर क्राइममा कारबाही अगाडि बढाउने निर्णय गरेको थियो।
लेखाको पत्र गैरकानुनी
साइबर कानुनका जानकार अधिवक्ता बाबुराम अर्यालले लेखा समितिको पत्र आपत्तिजनको भएको बताएका छन्।
प्रहरीको आलोचना गरेकोमा साइबर अपराधमा मुद्दा नचल्ने भनी न्यायिक टिप्पणीसमेत काठमाडौं जिल्ला अदालतले उहिल्यै भइसकेको भन्दै उनले लेखा समितिको पत्र गलत भएको बताए।
पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पनि लेखा समितिको पत्र गलत भएको बताए। ‘संसदीय समितिले साइबर क्राइमको हतियार उठाउने? यो त अति भयो,’ उनले सामाजिक सञ्जालमा टुइटरमा लेखेका छन्, ‘संसदीय विशेषाधिकारमा कारबाही अगाडि बढाउन सक्थ्यो। सम्बन्धित सासदले गाली बेइज्जतीमा मुद्दा दिन सक्थे तर फौजदारी कानून र प्रहरीको दुरुपयोग गर्ने यो शैली गम्भीर र आपत्तिजनक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।