काठमाडौं- दोस्रो बजारमा इतिहासकै सबैभन्दा बढी कारोबार भएको छ। बिहीबार दोस्रो बजारमा २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको हो। यसभन्दा अघि २०७३ साउन ११ गते २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो।
सो समयमा नेप्से सूचक १८६६.५० अंक थियो। जतिबेला नेप्से सूचक 'अप्टिम बुलिस ट्रेन्ड'मा थियो। सबैभन्दा धेरै कारोबार भएको भोलिपल्ट साउन १२ गते नेप्से सूचक पनि सबैभन्दा उच्च १८८१ अंक पुगेको थियो।
त्यस यता नेप्से सूचक लगातार गिरावट हुने क्रममा गयो। यो क्रम जारी रहँदा गत फागुन १९ गते ११०० अंकसम्म तल झर्यो। सूचक लगातार ओरालो झर्ने क्रममा दुई अर्ब ७५ करोड रुपैयाँसम्म कारोबार भएको बजारमा १२/१३ करोड रुपैयाँसम्म तल झर्यो।
चार/पाँच महिना अगाडि दोस्रो बजारमा दैनिक औषत कारोबार २० करोडको हाराहारीमा मात्र सीमित भएको थियो। केही समयदेखि सुधार भइरहेको बजारमा कारोबार रकम लगातार बढ्ने क्रममा छ।
अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार हुँदा ब्रोकरले नै कारोबार गर्नुपर्थ्यो। तर अहिले अनलाइन प्रणालीले गर्दा कारोबार रकम बढिरहेको छ। बजार सुधार हुने क्रमसँगै अनलाइन तथा ब्रोकर कम्पनी दुबैले कारोबार गरिरहेका छन्। यदि अहिले अनलाइन कारोबार नहुने हो भने यति धेरै कारोबार हुन सम्भव नभएको एक ब्रोकरले बताए।
अनलाइन प्रणालीको विकाससँगै लगानीकर्ताले आफ्नै माबाइल तथा ल्यापटपबाट खरिदबिक्री भइरहेको छ।
बिहीबार नेप्से सूचक २९.३२ अंकले बढेर १४४३.५७ अंकमा पुग्दा कारोबार ऐतिहासिक बढी हुन पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।