काठमाडौं- प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरका प्रत्यासी चिन्तामणी शिवाकोटीलाई 'बहुमुखी प्रतिभाका धनी उहाँ चिन्तामुक्त हुनुहुन्छ तर नाम चैं चिन्तामणी‚' भन्दै व्यङ्ग गरेका छन्।
चैत ५ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त हुँदैछ। उक्त पदका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी खुलेरै गभर्नरका लागि आफू बलियो दाबेदार भएको बताउँदै आएका छन्।
गभर्नरको पदको पद पूर्ती प्रक्रिया अगाडि प्रधानमन्त्री निवास बालुवाटारमै शिवाकोटीले प्रधानमन्त्री मार्फत् आफैंले लेखेको 'मुलुक आर्थिक समृद्धिको यात्रामा' पुस्तक विमोचन गरेका छन्।
विमोचन कार्यक्रममा प्रधानमन्त्री ओली र गभर्नरका प्रत्यासी शिवाकोटीबीच खासै कुराकानी भएन। ‘पुस्तक लेख्नुभएकोमा बधाइ’ भन्दै मन्तव्य सुरु गरेका ओलीले शिवाकोटीलाई अनौपचारिक रुपमा व्यङ्ग पनि गरे।
साथै उनले शिवाकोटीको शिक्षा र योगदानको पनि चर्चा गर्न भ्याए। 'उहाँको बहुमुखी प्रतिभाको विषयमा चर्चा भइसकेको छ। चिन्तामणी शिवाकोटी डेपुटी गभर्नर हुनुहुन्छ।' शिवाकोटीको बायोडाटा केलाउँदै ओलीले भने‚ 'उहाँको विषय म्यानेजमेन्ट, फाइनान्स, इकोनोमिक्स र उहाँले साहित्यतर्फ पनि उत्तिकै रुचि राख्नुहुन्छ। उहाँका साहित्यिक कृति एकदमै कलात्मक छन्। आज उहाँका दुईवटा नयाँ कृति थपिएका छन्।'
अर्थतन्त्र वित्तीय व्यवस्थाजस्ता महत्वपुर्ण विषयमा देशभक्ति र विकासलाई जोडेर सिर्जना गरेको भन्दै उनले शिवाकोटीलाई बधाई तथा शुभकामना दिए।
उनैलाई इङ्गित गर्दै ओलीले भने‚ 'माया पिरतीमा गित बनाउन सकिन्छ। माया पिरतीमा परेलीमा अल्झिन सकिन्छ, पछ्यौरीमा अल्झिन सकिन्छ तर विकास निर्माणमा विश्लेषण कठिन छ। अर्थतन्त्रमा न परेलीमा अल्झिन सकिन्छ न पछौरीमा नै।’
घोचपेचकै क्रममा उनले थपे 'कवितामा देश विकास गर्न सजिलो हुन्छ। एक दिनमा कविता लेखिन्छ तर देश विकास कविता लेखेजस्तो हुँदैन।' एक चुड्किलोमा देशका समस्या समाधान नहुने भन्दै प्रधानमन्त्री वलिले यसका समय लाग्ने बताए।
उनले भने‚ 'देशको अर्थतन्त्र ध्वस्त छ, गरिबीले जिर्ण बनाएको छ। यसलाई उठाउन लागिपरिरहेको छौं।'
विमोचनका कार्यक्रममा ओलीले आफू भ्रष्ट्राचारलाई शून्य सहनशिलतामा राख्न नहिच्किचाउने बताए। उनले थपे‚ 'म सुशासनका निम्ति चाल्नुपर्ने कदममा हिच्किचाउदिनँ।' उनले थपे‚ 'यसो भन्दै गर्दा आफूलाई धेरैले तेरो प्रधानमन्त्री पद धरापमा पर्छ भन्ने गरेका छन्।'
उनीहरुलाई जवाफ फर्काउँदै ओलीले भने‚ 'हजार वर्ष कसैले पनि रुल गर्न सक्दैन।' आफू प्रणाली बसाउन प्रयन्त्रशील रहेको भन्दै ओलीले यसका लागि सबै पदमा बसिरहनुपर्छ भन्ने मान्यता राख्न नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।