काठमाडौं- शेयर बजार सुधारको क्रममा बुधबार ५.२४ प्रतिशत अंकले बढेर १४०५.२५ अंकमा रोकिएको छ। लगातार सुधारको क्रममा रहेको शेयर बजारमा बुधबार एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ।
वाणिज्य बैंकका शेयर धनीहरुले नाफा बुक गर्न खोज्दा मंगलबार र बुधबार केही करेक्सन देखिएको छ। वाणिज्य बैंकको सूचक ३.७५ अंकले घटेपनि उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सको सूचकमा उल्लेख्य सुधार देखिएको छ।
माइक्रोफाइनान्सको सूचक १०४ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधनको सूचक ९४ अंकले सुधार भएको हो। तर जीवन बीमा कम्पनीको सूचक ५२ अंकले घटेको छ। केही समयअगाडि ब्रोकर कम्पनीको धेरै पैसा फसेको शिवम् सिमेन्ट र हिमालयन डिष्ट्रिलरीको शेयरमा ब्रोकर आफैंले कम्पनीको मूल्य बढाइरहेका छन्।
डिष्ट्रिलिरीका संस्थापकले बिक्री गरेको शेयर ब्रोकर कम्पनीहरु आफैंले खरिद गरेका थिए। तर उनीहरुले शेयर बिक्री गरेपछि कम्पनीको शेयर मूल्यमा भारि गिरावट आइरहेको छ। उनीहरूले बजार सकारात्मक देखिएको मौका पारेर हरेक दिन कम्पनीको शेयर बढाइरहेका छन्।
बुधबार यस कम्पनीको शेयर मूल्य १५५० रुपैयाँ पुगेको छ। मूल्य बढ्दै गर्दा पछिल्ला दिनमा कम्पनीको शेयर अधिकतम कारोबार हुने सूचिमा पर्दै आएको छ। बुधबार पनि कम्पनीको शेयर १२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ।
त्यस्तै शिवम् सिमेन्टमा ब्रोकरहरुले नियोजित रुपमा शेयर खरिद गरेका थिए। तर यो कम्पनीको शेयर मूल्य पनि लगातार घट्दो क्रममा रह्यो। अधिकतम ७१० रुपैयाँ पुगेको शेयर गत कात्तिकमा ३९० रुपैयाँसम्म तल झर्यो।
जसले गर्दा ब्रोकरहरुसँग शेयर खरिद गर्ने लिक्विडिटीकै अभाव भयो।
प्राथमिक शेयरमै कर्नरिङ भएको यो शेयर पछिल्लो दिनमा ब्रोकर आफैंले बढाइरहेका छन्। बुधबार कम्पनीको शेयर मूल्य ६४० रुपैयाँ छ।
होङ्सी समूहमा ८० प्रतिशत लगानी रहेको शिवम् सिमेन्टले आगामी वर्षमा होङ्सी सिमेन्टबाट प्राप्त हुने आम्दानीबाट राम्रो लाभांश दिन सक्ने भन्दै दोस्रो बजारमा स्पेकुलेसन भइरहेको छ।
शिवम् सिमेन्ट आफैंले वित्तीय विवरण कमजोर रहे पनि होङ्सीको व्याकअपमा कम्पनीको मूल्यमा लगानीकर्ताहरुले खेलिरहेका छन्। जसले गर्दा विगत दुई सातादेखि सबैभन्दा धेरै शेयर कारोबार हुने कम्पनीमा पर्दै आएको छ।
बुधबारमात्रै कम्पनीको शेयर १४ करोड ७१ लाख रुपैयाँ कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।