काठमाडाैं- पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्रको अवस्था २ वर्षअघिको तुलनामा खासै फरक नदेखिएको भन्दै सरकार र अर्थमन्त्रीको काम गर्ने तरिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
अर्थ समितिको बुधवारको बैठकमा बोल्दै पाण्डेले परम्परागत तरिकाले काम गर्ने सरकारको कार्यशैलीमा तात्विक भिन्नता नदेखिएको बताए। `सरकारले नभनी आम मानिसले विकास भएको छ भनेर आफैं पत्याउनुपर्ने हो तर यहाँ त भनेर पनि पत्याउने अवस्था छनै´, पाण्डेले भने। सरकारले राम्रो काम गरेको भनेर जति नै ढोल पिटे पनि त्यसको अनुभूति आम मानिसमा हुन नसकेको उनको भनाई छ।
पुँजीगत खर्च हुन नसक्नु विगतकै सरकारका प्रवृत्तिको निरन्तरता रहेको उनकाे धारणा छ। बजेट खर्च हुन नसक्नुको पहिलो कारण सरकारको कार्यशैली र दोस्राे कारण कर्मचारीको कार्य दक्षताको अभाव रहेको उनको भनाई छ। `फाइल टिप्पणी गर्ने कर्मचारीको भरिभराउ भयो। दक्ष जनशक्ति भएन। यसबारे सरकारले सोचेको छैन,' उनले भने।
पाण्डेले वर्तमान अर्थमन्त्री डा युवराज खतिवडाको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन्। `मुलुकको अर्थतन्त्र डामाडोल छ भनेर देखाउन जारी गरेको आर्थिक स्वेतपत्रमा देखाएको अवस्था अहिले सच्चियो त? अर्थतन्त्रको नाकामीलाई ढाकछोप गर्नका लागि ल्याइएको स्वेतपत्रको औचित्य के हो?´ उनले भने। स्वेतपत्रमा बिना श्रोत बजेट दियो भनेर जोडतोडका साथ देखाउन खोजिएको र अहिले पनि अवस्था उस्तै रहेको पाण्डेले बताए।
`स्वेतपत्रमा मुलुकको अर्थतन्त्र डामाडोल छ भनिएको थियो। समस्या अहिले पनि जारी छ भने अर्थ मन्त्रालयले त्यसमा केही करेक्सन गरेन भन्ने बुझियो,' उनले भने। सरकारले चालु आवको अर्धवार्षिक समीक्षा गर्दा ४ प्रतिशतमात्रै आर्थिक वृद्धिदर देखिएको तथ्यांक लुकाएको आरोप पनि उनले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।