काठमाडौं – सबैभन्दा धेरै उत्पादन क्षमता भएको होङ्सी सिमेन्टले क्लिङ्कर बिक्रीबाट मात्रै कुल आम्दानीको ७१ प्रतिशत आर्जन गरेको छ। कम्पनीले सञ्चालनमा आएको पहिलो वर्ष गरेको १३ अर्ब ५३ करोड रुपैयाँ आम्दानीमध्ये करिब तीन चौथाइ क्लिङ्कर बेचेर कमाएको छ।
यस आम्दानीको लगभग २५ प्रतिशत कम्पनीलाई नाफा बस्छ। यस आधारमा कम्पनीलाई तीन अर्ब ३१ करोड रुपैयाँ कर बाहेकको नाफा हुन जान्छ। कम्पनीले सिमेन्ट उत्पादन सुरु गर्नु भन्दा अगाडि क्लिङ्कर उत्पादन सुरु गरेको थियो। त्यसैले गर्दा कम्पनीको ७१ प्रतिशत आम्दानी क्लिङ्करबाट भएको हो।
होङ्सीले आउनुभन्दा अगाडि नेपाली सिमेन्ट उद्योगले भारतबाट प्रति मेट्रिक टन १२ हजार रुपैयाँ भन्दा माथिको लागतमा क्लिङ्कर आयात गर्थे। होङ्सीले क्लिङ्कर उत्पादन सुरु गरेसँगै अहिले नेपाली उद्योगले ७ हजार ५०० रुपैयाँमै पाइरहेका छन्। क्लिङ्करको लागत कम भएसँगै नेपालमा सिमेन्टको उत्पादन लागत घटिरहेको छ।
दैनिक ६ हजार ९७० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको कम्पनीले सिमेन्ट उत्पादन भन्दा क्लिङ्कर उत्पादनलाई बढि प्राथमिकता दिएको छ। कम्पनीले व्यावसायिक उत्पादन सुरु गरे पनि अझै केही संरचना निर्माण भैरहेका छन्। कम्पनीलाई क्लिङ्करको 'ब्याकअप'ले नाफा आर्जन गर्न सहयोग गरिरहेको छ।
साढे ९ अर्ब ऋणको रेटिङ
कम्पनीले उद्योगका लागि लिएको ९ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। इक्रा नेपालले गरेको रेटिङअनुसार कम्पनीले 'इक्राएनपी एलए प्लस' प्राप्त गरेको छ। उक्त रेटिङले यदि कम्पनीले समयमा वित्तीय दायित्व पुरा गरेको खण्डमा मध्यम किसिमको सुरक्षाको संकेत प्रदान गर्ने जनाउँछ।
कम्पनीले लिएको उक्त कर्जाको सहवित्तीयकरणको नेतृत्व एनएमबी बैंकले गरेको छ। उक्त कर्जा मध्ये चिनिया दुई बैंकहरु बैंक अफ चाइना र मिसेइङ बैंक ग्यारेन्टी बसेका छन्। चीनका दुबै बैंकले राम्रो रेटिङ प्राप्त गरेका छन्। दुई बैंकको ग्यारेन्टीले गर्द पनि उक्त कर्जाले राम्रो रेटिङ प्राप्त गरेको हो। यदि कम्पनीले उक्त कर्जा तिरेन भने चीनका दुई बैंकले तिर्ने सर्तमा नेपाली बैंकले यति धेरै ऋण लगानी गरेका हुन्।
सिमेन्ट बजारमा अस्वस्थ प्रतिस्पर्धा भैरहेको अवस्थामा कम्पनीले आफ्नो ब्राण्डलाई स्थापित गराएको छ। यसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न सजिलो भएको रेटिङ एजेन्सीले जनाएको छ। बलियो लगानीकर्ता भएकोले पनि कम्पनीले राम्रो रेटिङ प्राप्त गरेको हो।
कम्पनीमा ७० प्रतिशत लगानी हङ्कङ रेड लाइन सिमेन्टको छ। बाँकी ३० प्रतिशत होङ्सी ग्रुपको छ। उक्त ग्रुपको ८० प्रतिशत लगानी होङ्सी सिमेन्टको रहेको छ।
गत वर्षकै अनुपातमा कम्पनीले आम्दानी गर्योल भने पनि अबको ५ वर्षमा उक्त कर्जा भुक्तानी गरिसक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।