काठमाडौं- नियमनकारी निकाय बीमा समितिले बीमा कम्पनीहरुका लागि एन्टी मनी लन्ड्रिङ सिस्टम (गो-एमएल) प्रणाली लागू गर्ने भएको छ। सम्पत्ति शुद्धीकरण निवारणका लागि समितिले यो प्रणाली प्रयोगका लागि तयारी अघि बढाएको छ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा नेपालमा वित्तीय लगानी भए/नभएको मूल्यांकन यही वर्ष हुँदैछ। यसको पूर्वसन्धन्यामा बैंकहरुमा जस्तै बीमामा पनि गो-एएमएल प्रणाली कार्यान्वयनका लागि समितिले तयारी अघि बढाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
यो वर्ष सम्पत्ति शुद्धीकरणका विश्वव्यापी मापदण्डहरुमा नेपालको मूल्यांकन हुने भएकाले नियमनकारी निकायहरुले आफ्नो दायरामा पर्ने संस्थाहरुमा नयाँ व्यवस्था गर्दै आएका छन्। त्यो मूल्यांकनमा गलत तरिकाबाट आर्जन भएको सम्पत्तिको शुद्धीकरणमा नेपालको अवस्था सहज रहेको भेटिए देश कालोसूचीमा पर्ने जोखिम हुन्छ। यसैको न्यूनीकरणका लागि कडाइ गरिएको हो।
बीमा क्षेत्रमा गो-एएमएल लागू गर्न यस क्षेत्रसँग मिल्ने प्रणालीको विकास गरिने पौडेलले जानकारी दिए। यो प्रणाली लागू भएसँगै बैंक तथा बीमा क्षेत्रका लागि केन्द्रीय ग्राहक पहिचान प्रणाली (सेन्ट्रल केवाइसी)को विकास हुने छ।
बैंक तथा वित्तीय संस्थाका ग्राहकको लागि यो प्रणाली विकास गरिएको हो। हाल सम्पूर्ण वाणिज्य बैंकहरुमा यो प्रणाली लागू गरिएको छ। नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि लागू गरेको यो प्राणाली विकास बैंक तथा वित्त कम्पनीमा पनि लागू गर्ने तयारी गरेको छ।
बीमा क्षेत्रमा गो-एएमएल लागू भएसँगै एउटै व्यक्तीले बीमा, बैंक तथा वित्तीय क्षेत्रमा गरेको कारोबारको नियमन गर्न सकिनेछ। अहिले एउटै व्यक्तिले शेयर, बैंक तथा बीमा क्षेत्रमा एकै पटक गरेको लगानीको विवरण थाहा पाउन कठिन छ। बैंक, बीमा र शेयर बजारमा गो-एएमएल लागू गरेसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सजिलै अनुगमन गर्न सक्नेछ।
विश्वका धेरै देशहरुका बैंक तथा वित्तीय संस्थाहरुले यो प्रणाली प्रयोग गरिरहेका छन्।
गो-एएमएल प्रणालीमा बीमा कम्पनीहरुलाई जोड्न केही समय लाग्नेछ। उक्त प्रणालीले कसैले अवैध रकम बीमा क्षेत्रमा प्रयोग गरेको अवस्थामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सजिलै पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढाउन सक्नेछ।
बीमा समितिले गो-एएमएल लागू गर्ने तयारी गर्नुका साथै बीमा कम्पनीहरुको निरीक्षणलाई पनि अगाडि बढाएको पौडेलले बताए। उनले भने, 'बीमा कम्पनीमै गएर समितिले नियमित निरीक्षण गर्ने कार्यलाई अगाडि बढाइरहेको छ, बीमा क्षेत्रमा कालोधन प्रयोग नहोस् भनेर बीमा समिति सचेत छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।