काठमाडौं- कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले काठमाडौंको भृकुटी मण्डपमा सूचना प्रविधिसम्बन्धी क्यान इन्फोटेक २०२० आयोजना गरेको छ।
बुधबारसम्म चल्ने उक्त मेलाको मुख्य उद्देश्य आम नेपालीसम्म सूचना प्रविधिको जानकारी पुर्याउनु हो।
मेलामा नेपाली बजारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु प्रदर्शनका लागि राखिएको छ।
क्यान इन्फोटेक २०२० मार्फत आर्थिक कारोबारलाई भन्दा पनि प्रविधिका प्रचारप्रसारमा जोड दिइएको क्यानका अध्यक्ष नवराज कुँवर बताए।
‘हामीले मेलामा व्यापारलाई भन्दा पनि प्रविधिसम्बन्धी जानकारी आम मानिससम्म पुर्याउने भन्ने हो‚’ अध्यक्ष कुँवरले नेपाल लाइभसँग भने।
यस्तो छ मेलाको आकर्षण
मेलामा सूचना तथा सञ्चार क्षेत्रका नयाँ प्रविधि तथा उपकरणका साथै नयाँ नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका सामग्री प्रदर्शनीमा राखेका छन्।
सूचना तथा प्रविधिको जानकारीका लागि विद्यालय तथा कलेजका विद्यार्थीहरुको समेत निकै आकर्षण देखिएको छ।
उक्त प्रदर्शनीमा १ सय ४७ मेन्टिनेन्स पावर, सोलुसन्स, मोबाइल, कम्प्युटर, डिलर र डिस्ट्रव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेक्निकल कलेज, इन्ष्टिच्युट, सफ्टवेयर सोलुसनलगायतका स्टलहरु छन्। भर्खरै नेपाल भित्रिएका केही प्रविधिजन्य सामग्री समेत प्रदर्शनीमा राखिएका छन्।
मेलामा प्रविधियुक्त वस्तुहरु खरिद गर्दा आकर्षक छुटको समेत व्यवस्था गरिएको क्यानले जनाएको छ।
क्यानका अध्यक्ष कुँवरले ल्यापटप तथा कम्प्युटरमा ३० देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताए।
नेपाली बजारमा इन्ट्रान्स कन्ट्रोलर
बारकोड नेपालले भर्खरैमात्र जेडकेटी कम्पनीको नयाँ प्रविधियुक्त इन्ट्रान्स कन्ट्रोलर भित्र्याएको छ।
जसमा जडान गरिएको फेश रेकोमेन्डेशन टर्मिनलले प्रवेश पहुँचमा नियन्त्रण गर्दछ। यो मेसिन ठूलाठूला नीजि तथा सरकारी कम्पनीले इन्ट्रान्स कन्ट्रोलका लागि प्रयोग गर्न सक्छन्।
गेट तथा ढोका अगाडि राखिने सो मेसिनमा कर्मचारी तथा सम्बन्धित व्यक्तिहरुको फेस सेटअप गर्न सकिन्छ। सेट गरिएको फेस टर्मिनलले चिन्छ र प्रवेशका लागि लक खुल्छ। फेस सेटअप छैन भने ढोका खुल्दैन।
मेसिनमा ३ हजार जनासम्मको फेस सेट गर्न मिल्छ। यो मेसिन बजारसम्म भने पुगिसकेको छैन। पछिल्लो समय यसको अर्डर आइरहेको बारकोड नेपालका निर्देशक सञ्जय तिमिल्सिनाले बताए।
ट्रन स्टाइल ब्यारिअर
पछिल्लो समय नेपाली बजारमा ट्वाइलेट प्रवेशका लागि नयाँ प्रविधि ‘ट्रन स्टाइल व्यारियर’ आएको छ। जुन प्रविधिअन्तरर्गत मेसिनमा सिक्का खसाएपछिमात्रै ट्वाइलेट जाने बाटो खुल्छ।
यो प्रविधि विभिन्न सार्वजनिक शौचालयमा सेट गर्दा रकम संकलनका लागि व्यक्ति बसिरहनु नपर्ने हुँदा निकै सहज हुन्छ।
४ लाखले अवलोकन गर्ने लक्ष्य
क्यानले बुधबारसम्म ४ लाखले यो मेला अवलोकन गर्ने लक्ष्य अघि सारेको छ। मेलामा युवाहरुको बढ्दो आकर्षण देखिएसँगै लक्ष्यअनुसार नै अवलोकनका लागि मानिसहरु मेलामा आउने गरेको क्यानका अध्यक्ष नवराज कुँवरले बताए।
‘मेलामा लक्ष्यभन्दा बढि नै मानिसहरु आउनुहुन्छ भन्ने विश्वास लिएका छौँ, अहिले कोरोना भाइरसको प्रकोपले गर्दा पनि विदेशी अवलोकनकर्ताहरु भने उल्लेख्य रुपमा उपस्थित हुन सकेको छैन‚’ अध्यक्ष कुँवरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।