काठमाडौं- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्ने बताएका छन्।
सभाका सदस्यबीच राष्ट्रियसभा अभ्यास र अनुभवबारे भएको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सभालाई परिपक्व ढंगले अभ्यास गर्दै औचित्य पुष्टि गर्ने दायित्व ५९ जनाको काँधमा रहेको बताए।
‘केही समयपछि गठन भएको राष्ट्रियसभाको औचित्य र भूमिकाबारे बाहिर प्रश्न उठ्ने गरेको छ’, उनले भने, ‘यसको औचित्य पुष्टि हुनेगरी काम गरेर देखाउनुपर्छ।’
नयाँ संविधानको व्यवस्था अनुसार गठित संघीय संसदका दुई सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको अभ्यासबारे अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नुपर्ने उनले उल्लेख गरे।
अध्यक्ष तिमिल्सिनाले नेपालमा अहिले नयाँ अभ्यास सुरु भएकाले बेलायत लगायतका देशको अनुभव सिक्न यो अन्तर्क्रिया आयोजना गरिएको बताए।
अन्तर्क्रियामा पूर्व सांसद तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले राष्ट्रियसभाले कानुन निर्माणमा जोड दिने भएकाले यसको औचित्य पृथक् रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।