काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्सका आधिकारिक बिक्रेता गोयनका र सारडा समूहले संयुक्त रुपमा ल्याउने निश्चित भएको छ। दुई समूहले एउटा कम्पनी मार्फत नेपालमा ग्रेटवाल तथा यसको ब्रान्ड हाभालका सवारी ल्याउने गरी मौखिक सम्झौता गरेका छन्।
भारतीय बजारमा प्रवेश गरेसँगै चिनियाँ सवारी उत्पादक कम्पनी ग्रटेवाल मोटर्स नेपाल ल्याउन विभिन्न व्यवसायिक घरानाहरु दोडधुपमा लागेका थिए। उक्त दौडधुपको गोयनका र सारडा समूहले जित हात पारेको छ। लिखित सम्झौताका लागि कोरोना भाइरस बाधक बनेको छ।
उक्त समूहले आधिकारिक बिक्रेता कम्पनीको नाम भने खुलाएको छैन। ‘आधिकारिक बिक्रेताको सम्झौता हालसम्म भइसकेको हुन्थ्यो,’ समूह सम्बन्ध स्रोतले नेपाल लाइभसँग भन्यो, ‘सबै तयारी भइसकेको छ। कोरोना भइरसका कारण हामी चीन जान सक्ने र चिनियाँ पक्ष यहाँ आउने सक्ने दुवै अवस्था छैन। त्यसैले सम्झौताका लागि केही ढिलो भएको हो।’
नेपालमा आउने करिब ८० प्रतिशत सवारी भारतमै उत्पादित भएका हुन्छन्। भारतमा उत्पादित सवारी तुलनात्मक रुपमा सस्तो हुने र पार्टपूर्जाको उपलब्धतासमेत सहज हुने भएकाले नेपालमा त्यस्ता सवारी लोकप्रिय छन्। यस्तै अवसरको पर्खाइमा थियो चिनियाँ सवारी उत्पादक ग्रेटवाट मोटर्स।
ग्रेटवाल मोटर्सले भारतमा प्लान्ट स्थापना गर्दै आक्रामक बजार विस्तारको योजनासहित अटो एक्स्पो २०२० बाट औपचारिक प्रवेश गर्यो। ग्रेटवाल मोटर भारतमा हाभाल ब्रान्डसहित आएको हो। भारतमा ग्रेटवाल मोटर्सको प्रवेशसँगै उक्त ब्रान्ड नेपाल भित्र्याउन व्यवसायिक घराना लागिपरेकोमा गायनका र सारडा समूहले हात पारेका हुन्।
भारतमै प्लान्ट स्थापना गरेर सवारी उत्पादन हुने भएपछि नेपालमा त्यसको राम्रो सम्भावना देखिएकाले व्यवसायीहरु लागिपरेका हुन्। चिनियाँ उत्पादन नेपाली बजारमा केही समयअघि समेत बिक्री भएको थियो। तर सवारी आयातकर्ताहरुले एकपटक ल्याएर बिक्री गरेको, त्यसलाई निरन्तरता नदिएको र पार्टका बारेमा बेवास्ता गरेकाले चिनियाँ सवारी ब्रान्डप्रति नेपालीको धारणा सकारात्मक भने छैन।
विगतमा चेरी, जोते, ग्रेटवाललगायत ब्रान्डका सवारी बिक्री भएका थिए। ब्रान्डका हिसाबले ग्रेटवाल नेपाली उपभोक्ताका लागि नौलो ब्रान्ड भने होइन। भारतमै उत्पादन भएर आउने भएकाले आधिकारिक बिक्रेताले सवारीसँगै पार्टस् तथा सर्भिसलाई प्राथमिकतामा राख्नुपर्नेछ।
सारडा समूहले हाल नेपाली बजारमा निसान तथा ड्याटसनका सवारी बिक्री गर्दै आएको छ भने गोयनकाले जापानी इलेक्ट्रिक स्कुटर टेरा मोटर्स बिक्री गर्दै आएको छ।
ग्रेटवाल मोटर्सले भारतमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार अटो एक्सपो २०२० मा सार्वजनिक गरेको थियो। सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति दिएकाले ग्रेटवाका विद्युतीय कारको सम्भावना बलियो देखिन्छ।
त्यस्तै ग्रेटवालको सव ब्रान्डको रुपमा रहेको हावालका एसयुभी उत्कृष्ट मानिन्छन्। ग्रेटवाल चीनको सबैभन्दा ठूलो एसयुभी उत्पादक समेत हो।
दुई समूहले कम्पनी बनाई आवश्यक तयारी गरिरहेका छन्। २०२० को मार्चदेखि कार त्याएस बिक्री गर्ने योजना कम्पनी रहेको छ। तर कोरोनाले त्यो धकेलिने सम्भावना अत्यधिक छ।
योबीचमा अन्य खेल नभएमा ग्रेटवालका सवारी गोयनका र सारडा समूहले बनाएको कम्पनीले नै ल्याउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।