१० करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप लागेका निलम्बित भन्सार अधिकृत कृष्णबहादुर बस्नेत। तस्बिर : नेपाल लाइभ अर्काइभ
काठमाडौं- ज्वाइँको कमाई र इज्जत दुवै राम्रै थियो। भन्सारको जागिर। रोजगारीका क्रममा अधिकांश समय विराटनगर र तातोपानी भन्सारमा बसेका ज्वाइँ अर्थ मन्त्रालयमा पहुँच भएकै कर्मचारीको रुपमा गनिन्थे।
भ्रष्टाचार मुद्दा लाग्नुअघि अर्थ मन्त्रालयले मन्त्रालयमा सरुवा गर्दा पनि उनी तातोपानीमै बस्ने चाहना गरे र सफल पनि भएका थिए।
समाजमा यिनै ज्वाइँका कारण गौली परिवारमा व्यापार पनि चम्केको थियो। ज्वाइँकै कारण उनीहरुले धेरै सम्पत्ति र शान आर्जन गरेका थिए।
तर, अहिले झापाका गौली परिवार उनै ज्वाइँका कारण विशेष अदालत धाइरहेका छन्। ससुरालीको पूरै परिवार विशेष अदालत धाइरहेको छ।
यसरी ससुराली परिवारलाई विशेष अदालत धाउन बाध्य बनाउने मुद्दा हो- तातोपानी भन्सारका प्रमुख कृष्णबहादुर बस्नेतविरुद्धको।
२०४५ सालमा शाखा अधिकृतबाट सरकारी सेवा(?) सुरु गरेका भन्सार अधिकृत बस्नेतविरुद्ध ३१ वर्षमा गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि ससुराली गौली परिवार नै तानिएका हुन्।
भन्सार अधिकृत बस्नेतले जागिरको अवधिमा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ अवैध आर्जन गरेको दाबी गर्दै मंसिर २८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतको सम्पत्ति लुकाएको आरोपमा ससुराली परिवारका जेठान नवीनकुमार गौली, सासुआमा सविता गौली, नवीनकुमार गौलीकी श्रीमती शाकुन्तला गौली, छोरा सुलभ गौलीविरुद्ध मुद्दा दायर गरेको हो।
बिगो र बिगो बराबरको रकम असुली गर्न र १० वर्ष कैदको मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो। उनीहरूको नाममा रहेको सम्पत्ति पनि जफत हुने दाबी गरेको छ।
अख्तियारको यही आरोपपत्रका आधारमा अदालतमा उपस्थित हुने म्याद घरमै पुगेपछि गौली परिवार आइतबार विशेष अदालत हाजिर भएका हुन्।
सोमबार उनीहरूको मुद्दामा सुनुवाई गर्दै विशेषले नवीनकुमारलाई १ करोड धरौटी र श्रीमती र छोरालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको छ।
विशेष अदालतका न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र रवि शर्मा अर्यालको इजलासले मागेको धरौटी रकम बराबरको बैंक ग्यारेन्टी राखेर परिवार नै झापा पर्खेका छन्।
नेपाल लाइभले कुरा गर्न खोज्दा पन्छन खोजेका उनले अर्को पेसी दुई महिनापछि भएको बताए।
विशेष अदालतमा भेटिएका नवीनले आफूहरुले ज्वाइँको सम्पत्ति प्रयोग नगरी आफ्नै व्यवसाय भएको तर अख्तियारले गलत मुद्दा दायर गरेको दाबी गरे।
घुसको रकमले नवीनका नाममा व्यापार गर्थे बस्नेत
बस्नेतले व्यापारीसँग असुल गरेको रकम वैधानिक बनाउन आफ्ना जेठानलाई प्रयोग गरेका थिए।
झापा घर भएका जेठान नवीनकुमार गौलीमार्फत् उनले यस्तो रकम वैधानिक बनाएको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।
भ्रष्टाचार गरेको सम्पत्ति बक्सिस बनाएर नामसारी
भ्रष्टाचार गरेको रकम वैधानिक बनाउने उनले यतिसम्म गरे कि त्यो सुन्ने नै छक्क पर्ने देखिन्छ।
अख्तियारले विशेष अदालतमा पेस गरेको अभियोगपत्रअनुसार बस्नेतले भ्रष्टाचार गरेको रकम जेठानको खातामा जम्मा गर्ने ,उक्त पैसाले जग्गा खरीद गर्ने अनि आफ्नो नाममा बक्सीसको रुपमा लिने गरेका थिए।
बस्नेतले आफू प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा विदेशबाट नेपाल आयात गर्ने सामानको भन्सार छुटाउँदा विभिन्न व्यापारी, व्यवसायी एवं भन्सार एजेन्टहरूसँग गैरकानूनी रुपमा घुस लिने गरेको र त्यसलाइ वैध बनाउन घर जग्गा,सुन र अन्यमा लगानी गर्ने गरेका थिए।
गैरकानूनी रकमहरु विभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवं भन्सार एजेन्टहरुमार्फत संखुवासभा खाँदबारी-१ निवासी आफ्ना जेठान गौलीले प्राप्त गर्ने गरी निज र निजको परिवारका सदस्यहरु एवं खाँदबारीस्थित विभिन्न व्यापारीहरुको बैंक खाता समेतमा ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैया जम्मा गर्न लगाएको अख्तियारको अनुसन्धानमा भेटिएको छ।
नगदै लिन्थे घुस
उपसचिव बस्नेतले घुुसको अधिकांश घुस रकम नगदमै कारोबार गर्ने गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
चेक वा बैंकमा जम्मा गराउँदा शंका हुने र समस्या आउन सक्ने भएकाले उनले रकम सँधै नगदमै बुझेर जेठानलाई पठाउने गरेको अख्तियारले अनुसन्धानका क्रममा पाएको थियो।
यदि कुनै व्यापारीले चेक दिन चाहेमा उनी आफ्नो नाममा नभई जेठान गौलीको नाममा जम्मा गर्न लगाउने र जम्मा भएको खबर आएपछि मात्र काम गर्ने गरेको अख्तियारको आरोपपमात्र उल्लेख छ।
जहाँ पुग्यो उतै सम्पत्ति
उपसचिव बस्नेतले जुन स्थानमा सरुवा भयो सोही स्थानमा महङ्गो जग्गा खरिद गर्ने गरेका थिए।
तातोपानी भन्सार कार्यालय आउनुअघि उनी विराटनगर भन्सारमा कार्यरत थिए।
त्यहाँ कार्यरत रहँदा उनले ससुराली क्षेत्र नजिकै खाँदबारी बजार र आसपास क्षेत्रमा १ सय रोपनी जग्गा खरिद गरेका थिए।
भ्रष्टाचारको पैसाले झापामा आरती होटल
उपसचिव बस्नेतले भ्रष्टाचार गरेको पैसाले झापामा सानदार होटलसमेत सञ्चालन गरेको पाइएको छ।
करिब १० करोड मूल्य रहेको आरती होटल उनले भ्रष्टाचार गरेको सम्पत्तिबाट जोडेकोले जफत हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
गैरकानुनी आर्जन गरेको रकमबाट अर्बिट इनर्जी प्रालिमा २ करोडभन्दा बढी शेयरमा लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
यसरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति वैधानिक बनाउने सहयोग गर्ने जेठानकी श्रीमतीलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले उनीहरूसँग जनही १० वर्ष कैद, बिगो बराबर जरिवानासमेत गरी २१ करोड रुपैयाँ असुल गर्न अख्तियारले माग गरेको छ।
जेठान गौलीका हकमा अख्तियारको मागदाबी
कृष्णबहादुर बस्नेतले आफू सार्वजनिक पदमा बहाल रहँदा गैरकानूनी रुपमा आर्जन गरेको रकम आफ्ना जेठान नवीनकुमार गौली एवं निजको परिवारका अन्य सदस्यहरुको नाममा लुकाउने गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उपसचिव बस्नेतको गैरकानूनी सम्पत्ति प्रयोग तथा व्यवस्थापन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन कसुरको मतियारको रुपमा कारबाही गर्न माग गरेको छ।
अख्तियारले जेठान गौलीसँग ९ करोड २१ लाख ५२ हजार रुपैयाँ असुल गर्न माग गरेको छ।
उपसचिव बस्नेतकी श्रीमतीका हकमा अख्तियारको मागदाबी
उपसचिव बस्नेतले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती सविता गौलीको नाममा लुकाउने गरेको भन्दै उनलाई पनि अख्तियारले मतियारको रुपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार सजाय गर्न माग अख्तियारले माग गरेको छ।
जेठान गौलीका श्रीमती र छोराको हकमा अख्तियारको मागदाबी
बस्नेतले आर्जन गरेको सम्पत्ति लुकाउने कार्यमा जेठान गौलीसहित श्रीमती र छोरोको समेत संलग्नता रहेको भन्दै उनीहरु विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरुको नाममा बस्नेतले चलअचल सम्पत्ति खरिद गरेको र होटल व्यवसायमा समेत लगानी गरेको आरोप अख्तियारले लगाएको छ।
आरोपीहरुबाट बिगो असुल उपर हुन नसकेमा सकुन्तला गौली र शुलभ गौलीको नाममा रहेका चलअचल सम्पत्तिबाट समेत बिगो असुल गर्न अख्तियारको माग गरेको छ।
यो पनि:
तातोपानी भन्सारका प्रमुख बस्नेतसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, घुसको पैसा जेठानसँग तारे हाेटलमा लगानी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।