काठमाडौं- प्राविधिक विश्लेषकहरूले नेप्से सूचक १३९० कटे नयाँ बुल सुरु हुने विश्लेषण लगत्तै सेयर बजारमा सुधार देखिएको छ। सोमबार एकै दिन नेप्से सूचक ३४.२६ अंकले सुधार भएर १३९८.२४ बिन्दुमा टेकेको पछि प्राविधिक विश्लेषणको असर बजारमा परेको देखिएको हो।
प्रावधिक विश्लेषकहरूले सेयर उठाउँदा हुन्छ भन्दै प्रचार गरेपछि लगानीकर्ताहरू हौसिएर सेयर खरिद गरिरहेको बताइएको छ।
लामो समय सेयर बजारमा गिरावट आएर करिब ७ सय अंकले तल झरेको थियो। २०७३ साल साउन २२ गते १८८२ बिन्दुमा टेकेको नेप्सेमा लगातार गिरावट आएर २०७५ फागुन १८ गते ११००.५८ अंकमा झरेको थियो।
एक वर्ष अगाडि ११०० अंकबाट सुधार भएर गत वर्ष १३५० भन्दा माथि जान सकेको थिएन। प्राविधिक विश्लेषकले गत वर्षको सबैभन्दा उच्च अंकलाई उछिन्यो भने बजार 'बुलिस ट्रेन्ड'मा अघि बढेको विश्लेषण गरेका थिए।
उनीहरूको विश्लेषण सँगै सेयर बजारले गत वर्षको उच्च विन्दुलाई उछिनेपछि लगानीकर्ताको मनोविज्ञान बढेको देखिएको हो।
सोमबार सबैभन्दा धेरै वाणिज्य बैंकको सेयर बढेको छ। सबैभन्दा धेरै बजार हिस्सा रहेको वाणिज्य बैंकको सूचक ४१ अंकले सुधार भएपछि बजारले बुलिस ट्रेन्ड पकडेको हो।
सोमबार बजार सुधार हुने क्रममा १४०३ अंकसम्म पुगेको थियो। कारोबार बन्द हुनेवेला सम्ममा २.५१ प्रतिशतले सुधारसँगै १३९८.२४ अंकमा रोकिएको छ। सूचकमा सुधार भए २ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ। यो दुई वर्षयताकै सबैभन्दा बढी कारोबार हो। विगतमा सबैभन्दा धेरै कारोबार हुँदा संस्थापक सेयरको हिस्सा धेरै थियो। तर सोमबार अधिकांश कारोबार सर्वसाधारणतर्फकै छ।
सबैभन्दा धेरै कारोबार हुने तीन कम्पनीको मात्रै ३३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। यस अवधिमा सस्ता कम्पनीमा खेल्ने लगानीकर्ता बढी देखिएका छन्।
बीमा कम्पनीहरूमा एनएफआरएस लागू भए सँगै अधिकांश कम्पनीहरूको लाभांस दिन सक्ने क्षमता बढ्ने भन्दै लगानीकर्ता हौसिएर महंगोमा सेयर उठाइरहेका छन्। तर बीमा समितिका अनुसार एनएफआरएस लागू भए पनि उनीहरूले जोखिम व्यवस्थापनका लागि छुट्टाउनु पर्ने पैसा पहिलाकै जस्तो हुनेछ।
सोमबार चार वटा कम्पनीको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ।
यस्तो प्राविधिक विश्लेषकहरूको अंकगणित
तीन महिनाको अवधिमा सेयर बजार सबैभन्दा तल्लो बिन्दु ११०९ अंकसम्म झर्यो। यसै अंकलाई आधार बनाएर सुधार हुन थालेको बजार लगातार बुलिस ट्रेन्डमा देखिन थालेको छ। प्रावधिक विश्लेषकहरूले यस अवधिको सबैभन्दा तल्लो बिन्दु यही भएको र अब यो बिन्दु भन्दा तल बजार नजाने विश्लेषण गरेका थिए।
विश्लेषकहरूले सबैभन्दा तल्लो बिन्दु नै यसैलाई मानेपछि लगानीकर्ताहरूले हौसिएर सेयर खरिद गर्न थालेका देखिएको छ। यस्तो विश्लेषण सँगै लगातार बढ्ने क्रममा रहेको सेयर बजार १३४३ अंकसम्म पुग्यो। पहिलो बुलमै सेयर बजार २३४ अंकले सुधार भयो। उक्त सुधारपछि ६७ अंकको करेक्सन भएर १२७६ अंकमा झर्यो। करिब दुई सातामा उक्त अंकको करेक्सनसँगै बजार पुनः ७३ अंकले सुधार भएर १३४९ अंकले बढ्यो। यस अवधिको दोस्रो बुल ७३ अंकले सुधार हुँदा जम्मा ३० अंकले मात्रै करेक्सन हुँदा बजार १३१९ अंकमा झर्यो।
यसै अवधिमा प्राविधिक विश्लेषकहरूले यदि बजार १३४९ अंक भन्दा माथि गयो भने सेयर किन्दा हुन्छ भन्दै प्राविधिक विश्लेषकहरूले प्रचार गरे। यस सँगै बजार लगातार सुधार भैरहेको छ। यस अवधिको यो तेस्रो बुल हो। तर अहिलेको बुल नयाँ ढङ्गले अगाडि बढेको उनिहरूको आकलन छ।
यसले सेयर बजारको टार्गेट अव १५ सय रहेको भन्दै लगानीकर्ताहरूले ऋण गरेर सेयर उठाउन थालेका हुन्। एक ब्रोकरका अनुसार यस अवधिमा ४० प्रतिशतभन्दा माथिको कारोबार बैंकहरूको मार्जिन कर्जाबाट भैरहेको छ।
बजारमा घरजग्गाका लगानीकर्ता
पछिल्लो समय ब्रोकर कार्यालय खचाखच देखिन थालेको छ। ब्रोकर कार्यालयमा काम गर्ने कर्मचारीको फोन पनि व्यस्त छ।
उनीहरूलाई फोन उठाएर भ्याइनभ्याई छ। बजारमा नियमित कारोबार गरिरहेका लगानीकर्ताका साथै घरजग्गामा लगानी गर्नेहरू सेयर बजारमा प्रवेश गरेका छन्।
पछिल्लो समय घरजग्गाको कारोबारमा मन्दी आइरहेको छ।
घरजग्गामा आएको मन्दी आए सँगै उनिहरू बजार प्रवेश गरेका हुन्।
बजार सुधार हुन थाले पछि लगानीकर्ताहरू महंगो व्याजदरमै कर्जा लिएर भए पनि सेयर खरिद गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।