काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो दुई वर्षम सरकारले औषतभन्दा राम्रो उपलब्धि हासिल गरेको बताएका छन्। सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले राम्रो उपलब्धि हासिल गरे पनि त्यसअनुसारको बहस नभएको उल्लेख गरे।
खतिवडाले पछिल्लो दुई वर्षमा सरकारले अनपेक्षित कार्यसम्पादन गरेको भएपनि केहि व्यक्तिहरुले अनावश्यक र तथ्यहीन प्रश्न सरकारमाथि गरिरहेको बताए। अर्थमन्त्री खतिवडाले आफू जिम्मेवारीमा हुँदा कहिल्यै अहिलेको जस्तो आर्थिक वृद्धिदर नेदेखेका र अनुभव नगरेका व्यक्तिहरु सेवा बाहिर हुँदा सरकारको राम्रो काममाथि पनि प्रश्न गरिरहेको बताए।
'हामीकहाँ एउटा वर्ग छ, जसले आफू सेवामा हुँदा सिन्को नभाँच्ने, तर सेवा बाहिर गएपछि मैले के–के न गरेँ अरुले गर्न सकेनन् भनेर भाषण गर्दै हिँड्ने,’ उनले भने, ‘नीति निर्माणमा बसेर औषतभन्दा कम कार्य सम्पादन गर्ने, औषतभन्दा कम कार्य कुशलता देखाउने, तर अहिलेको सरकारले औसतभन्दा सबै कुरामा धेरै माथि काम गर्दा पनि कार्यकुशलता भएन भएन अन्तर्वाता दिँदै हिड्ने पनि देखिए। उहाँहरुलाई हामी सबैले चिनिरहनु जरुरी छ।’
जिम्मेवारीमा रहँदा लक्षित कार्यसम्पादन गर्न नसक्नेहरु पनि अहिले बिना संकोच सरकारले काम गर्न सकेन भनेर संचारमाध्यममा बोल्दै हिँडेको भन्दै अर्थमन्त्रीले व्यंग्य गरे। ‘सरकारको २ वर्षको कार्यकालको सन्दर्भमा म हिजोआज टेलिभिजनमा केही अनुहारहरु देख्छु, जुन अनुहारहरुले दशकौं नेपालको नीति निर्माणमा, प्रशासन चलाउनमा भूमिका निर्वाह गरे,' मन्त्री खतिवडाले भने, 'तर औषतभन्दा माथि कुनै पनि काम गरेनन। औषतको तथ्यांक मैले सार्वजनिक गर्दैछु। हामीले २ वर्षमा अधिकांश क्षेत्रमा औषतभन्दा माथि कार्यसम्पादन गरेका छौं।’
आर्थिक वृद्धि, सुशासन, भष्ट्राचार निवारण र समाजको रुपान्तरणसँग जोडिएका अरु सूचकहरुमा उल्लेख्य प्रगति भएको अर्थमन्त्री खतिवडाको दावी छ। सरकारले आफ्नो काम कारबाही गर्दा जे भइरहेको हो त्यही देखाएको र अझ सुधार गर्ने लक्ष्यसाथ अघि बढीरहेको पनि स्पष्ट पारे।
आर्थिक परिसूचकहरुमा राखेका सरकारका लक्ष्यमा झिनो तलमाथि हुनु स्वभाविक रहेको भन्दै अर्थमन्त्री खतिवडाले अहिले त्यस्ता विषयमा हुने बहसको स्तर नै माथि पुगेको बताए। ‘यहाँ अहिले दशमलवको बहस चलेको छ। ६ प्रतिशत (मूल्यवृद्धि) भनेको ६ दशमलव ४ प्रतिशत पुगेछ। पहिले ६ प्रतिशत भित्रै मूल्यवृद्धि नियन्त्रणमा राख्ने भनेर १६ प्रतिशतसम्म पुगेको अवस्थामा पनि चुप लागेर बसेका थिए सबैजना,' उनले भने, तर अहिले दशमलबभन्दा पछिका अंकमाथि बहस चलेको छ। त्यसरी बुझौं न हामी लक्ष्यको कति नजिक पुगिसकेका रहेछौं भनेर।’
.jpg)
प्रतिरक्षात्मक शैलीमा प्रस्तुत भएका अर्थमन्त्री यतिमै रोखिएनन्। उनले अगाडि भने ‘कसै–कसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस नै चलाए। बहसको स्तर नै ६/७ प्रतिशतको आर्थिक वृद्धिदरमा पुगेर अड्कियो। आजकाल ३/४ प्रतिशतको आर्थिक वृद्धिको कुरै हुँदैन। जबकि उहाँहरु कसैकसैलाई राज्य संचालन गरिरहँदा त्यहि ४ प्रतिशत पनि नपुगेको अनुभव बोकेर सरकारबाट बाहिरिएका छन।'
कोही व्यक्तिले कुनै कुरा भन्दैमा वास्तविकता नबदिलिने भन्दै अर्थमन्त्री खतिवडाले सरकारका हरेक क्रियाकलापलाई समाजले मूल्यांकन गरिरहेको पनि बताए। उनले भने -‘समाजले यी कुराको मुल्यांकन गर्छ। सरकारले एकपक्षीय ढंगले यो कुरा राखिराखेको होइन। अब अंक पनि बोल्छन, अनभुति पनि बोल्छन र त्यसको प्रभाव पनि बोल्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।