काठमाडौं- सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २४ अर्ब ५८ करोड रुपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो अवधिमा मुख्य १५ वटा शीर्षकमा साढे २४ अर्ब रुपैयाँ रकमान्तर गरिएको हो।
मन्त्रालयका अनुसार यो अवधिमा सबैभन्दा धेरै दक्षिण एसियाली खेलकुद (साग) सञ्चालनका लागि रकमान्तर गरिएको छ। साग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषदलाई २ अर्ब ४५ करोड रुपैयाँ र साग सञ्चालनका लागि नै सुरक्षा निकायलाई थप ५ करोड ६६ लाख रुपैयाँ रकमान्तर गरिएको हो।
यसैगरी अर्थ मन्त्रालयले अधुरा आयोजना सम्पन्न गर्न तथा हिमाली र उच्च पहाडी जिल्लामा गत आर्थिक वर्षमा मौसमको प्रतिकूलताका कारण खर्च हुन नसकेको रकम चालु आर्थिक वर्षमा १ अर्ब ३२ करोड ८२ लाख रुपैयाँ रकमान्तर निकासा दिइएको छ।
यस्तै विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण र अतिथि सत्कार खर्चका लागि १२ करोड २५ लाख रुपैयाँ रकमान्तर गरिएको छ। यो रकमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणदेखि बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमणमा स्वागतका लागि समेत खर्च भएको छ।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा प्रचलित कानुनबमोजिम कर्मचारीको सुविधाका लागि ५ करोड ४६ लाख रुपैयाँ रमान्तर निकासा दिइएको छ। यस्तै मन्त्रिपरिषदको निर्णयअनुसार आर्थिक सहायता उपलब्ध गराउन ५ करोड ५२ लाख रुपैयाँ रकमान्तर गरिएको छ।
यसैगरी विभिन्न तहको उपनिर्वाचनका लागि २५ करोड तथा यसको सुरक्षा व्यवस्थापनका लागि १४ करोड ७४ लाख रुपैयाँ रकमान्तर गरिदिएको छ। विभिन्न निकायका लागि चालु खर्च बापत निकासाका लागि ४२ करोड ९० लाख रुपैयाँ रकमान्तर गरिएको छ।
सार्वजनिक संस्थानमा ऋण लगानी गर्न वित्तीय व्यवस्थामा थप ८० लाख रुपैयाँ रकमान्त गरिएको छ। विकास आयोजना निर्माणका लागि घर/जग्गाको मुआब्जा वितरण गर्न ८ करोड ८९ लाख रुपैयाँ उपलब्ध गराइएको छ।
विभिन्न निकायको लागि पुँजीगत खर्च बापत निकासाका लागि २८ करोड २० लाख रुपैयाँ रकमान्तर गरिएको छ। प्रदेश तथा स्थानीय तहलाई विशेष अनुदान ९ अर्ब ४२ करोड र समपूरक अनुदानका लागि ९ अर्ब ६३ करोड रुपैयाँ दिइएको छ।
अर्थ मन्त्रालयले मासिकरुपमा रकमान्तर र निकासाको विवरण सार्वजनिक गर्ने गरेको भए पनि यसपटक भने बजेटको अर्धवार्षिक समीक्षामा मात्रै सार्वजनिक गरेको छ। मन्त्रालयले १५ वटा शीर्षकमा समेटेर रकमान्तरको विवरण सार्वजनिक गरे पनि यसअघि जस्तो प्रत्येक खर्चको विवरण प्रस्तुत गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।