काठमाडौं-एनआईसी एसियाले आफ्नो नाममा रहेको सूर्या लाइफको संस्थापक शेयर बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ। बैंकले ५५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो।
बैंकले सोमबारदेखि उक्त शेयरका लागि आवेदन आह्वान गरेको हो। लगानीकर्ताहरुका लागि फागुन १३ गतेसम्म बिक्री खुला गरेको छ। संस्थापक शेयरका लागि न्युनतम २५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले २५० रुपैयाँभन्दा माथिको बोलकबोल गर्न सक्ने छन्।
खरिदकर्ताले न्युनतम १०० कित्तादेखि बिक्री गर्न खोजिएको सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन्। बोलकबोल आवेदनका लागि बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल बबरमहलबाट पाइनेछ।
कम्पनीको दोस्रो बजारमा संस्थापक शेयर मूल्य भने १५६ रुपैयाँ छ। एक वर्षको अवधिमा भने अधिकतम २८५ रुपैयाँसम्ममा कारोबार भएको छ। संस्थापक शेयरमा आवेदन दिनका लागि कर चुक्ताको प्रमाणपत्र, करदाता प्रमाणपत्र, संस्थाको हकमा सञ्चालक समितिको निर्णय आवश्यक पर्नेछ।
दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ५०० रुपैयाँ छ। दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ। अघिल्लो वर्ष १२ प्रतिशत बोनस शेयर दिएको कम्पनीले गत वर्षको भने दिनै बाँकी छ। बिमा समितिको पुँजी वृद्धि योजनापछि चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। जगेडा कोषमा ५६ करोड ८९ लाख रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।