काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीले करिब साढे ४ खर्ब रुपैयाँ नेपालमा पठाएका छन्।
नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो ६ महिनाको तथ्यांक प्रकाशन गर्दै ४ खर्ब ४७ अर्ब रकम रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो।
गत वर्षको यही अवधिमा अघिल्लो वर्षका तुलनामा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा खासै सुधार नहुँदा यस वर्ष भने रेमिट्यान्स वृद्धिदर कमजोर देखिएको छ।
गत वर्ष यसै अवधिकाे तुलनामा चालु आवको पहिलो ६ महिनामा शून्य दशमलव ९ प्रतिशतले मात्रै रेमिट्यान्स आप्रवाह दरमा सुधार आएको हो।
अमेरिकी डलरमा भित्रने रेमिट्यान्स भने १ दशमलव ३ प्रतिशतले बढेको देखिन्छ।
अघिल्लो वर्ष अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७ दशमलव ६ प्रतिशतले बढेको थियो।
यस वर्ष अमेरिकी डलरमा आउने रकम घट्दा विप्रेषणको वृद्धिदर थप खुम्चिन पुगेको हो।
वैदेशिक रोजगारमा जाने नेपालीको संख्या १७ दशमलव ७ प्रतिशत मात्रै बढेको छ।
गत वर्षको यही अवधिमा वैदेशिक रोजगारमा जाने नेपालीको संख्या २७ दशमलब ३ प्रतिशतले बढेको थियो।
अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत पुसको भन्दा १७.७ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.३ प्रतिशतले घटेको थियो।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.५ प्रतिशतले बढेको थियो ।
पुस मसान्तसम्ममा खुद ट्रान्सफर आय ०.१ प्रतिशतले वृद्धि भई रु.५०६ अर्ब ५ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २८.७ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।