काठमाडौं - नेपाल शेयर हबले नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा नेपाली पुँजी बजारको विद्यमान अवस्था र सुधारका लागि चाल्नुपर्ने कदमको विषयमा छलफल गरेको छ। कार्यक्रममा शेयर लगानीकर्ता, शेयर बजार विश्लेषक, मर्चेन्ट बैंकरसहित बोर्डका अध्यक्ष भीष्म ढुंगानाको उपस्थिति थियो।
छलफलमा अध्यक्ष ढुंगानाले पुँजी बजारको विकास र विस्तारको लागि काम गर्दै लगानीकर्ताको हितलाई ध्यानमा राखेर काम गर्ने बताए। २६ वर्षको अवधिमा बजार पुँजीकरण १३ अर्ब ८७ करोड रुपैयाँबाट अधिकतम खर्ब ९० करोड रुपैयाँसम्म पुगेको बोर्डका निर्देशक नारायणप्रसाद पौडेलले बताए।
तीन वर्ष अगाडि १८ खर्ब रुपैयाँ भन्दा माथि पुगेको बजार पुँजीकरण घटेर १४ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको थियो। हाल बजार पुँजीकरण सुधार भइ १७ खर्ब १७ अर्ब रुपैयाँ पुगिसकेको पौडेलले बताए।
बोर्डले शेयर बजारसँगै बस्तु बजारको पनि नियमत गर्ने तयारी गरिरहेको उनले बताएका थिए। पुँजी बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको गुनासो आउने गरेको, गैर आवासीय नेपालीहरुलाई पनि एउटा बिन्दु बनाएर इन्ट्री गराउनु पर्यो भन्ने सुझाव आएको उनले बताए। यसको सुधारका लागि बोर्डले काम गरिरहेको उनले जानकारी दिए।
छलफलमा लगानीकर्ताहरुले इन्साइडर ट्रेडिङको नियमन गर्ने नियामक निकायलाई अनुरोध गरेका थिए। बजार सुधारका लागि व्याजदर घट्नुपर्ने लगानीकर्ताको आवाज थियो। यसका लागि सबैले सोच्नुपर्ने उनीहरुको सुझाव थियो। ब्याजदर घटे बजार अझै सुधार हुने सहभागी लगानीकर्ताको आवाज थियो।
बोर्डले जारी गर्न लागेको नयाँ निर्देशिकाको मस्यौदामा पुँजी बजारलाई खुम्च्याउने प्रयास गरेको भन्दै फराकिलो सोचले अघि बढ्न सुझाव लगानीकर्ताको थियो। सहभागि एक लगानीकर्ताले लगानीकर्ताहरुको बर्गिकरण गर्न माग गरे। बजार सुधारका लागि नयाँ लगानीकर्ताहरुलाई प्रवेश गराउन नियामकले भूमिका खेल्नुपर्ने सहभागिको सुझाव थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।