काठमाडौं- मेगा बैंक नेपालले दोहा बैंकबाट २ अर्ब रुपैंयाँको ऋण भित्र्याउने भएको छ।
बैंकले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैंया) भित्राउन लागेको हो।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो। नेपाल राष्ट्र बैंकको स्वीकृतिलगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउनेछ।
कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो।
नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावको समस्यालाई समेत दृष्टिगत गरी दोहा बैंकबाट रकम भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ।
बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन छुट दिएको छ।
नेपाल राष्ट्र बैंकले बाटो खोलिदिए सँगै केही बैंकले विदेशबाट कर्जा ल्याउन थालेका हुन्।
मेगा बैंकको अहिले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेन्ट छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।