काठमाडौं- राजस्वको लक्ष्य र संकलनबीचको अन्तर एब खर्ब नजिक पुगेको छ। वार्षिक औषत ३० प्रतिशतको राजस्व बढाउने लक्ष्यसहित बजेट ल्याइएको भए पनि राजस्व संकलनको वृद्धिदर १३ प्रतिशतको हाराहारीमा सिमित भएपछि लक्ष्य र संकलनको अन्तर ९७ अर्ब रुपैयाँ पुगेको हो।
अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको सातौँ महिना अर्थात् माघ मसान्तसम्ममा सरकारले ५ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। माघ मसान्तसम्ममा सरकारले ६ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो।
माघ मसान्तसममा सरकारले तोकिएको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन गरेको छ। यो रकम गत वर्षको यही अवधिको तुलनामा १३.२९ प्रतिशतले धेरै हो। 'राजस्वको वृद्धिदर पुस मसान्तकै बराबरी छ, तर लक्ष्यको तुलनामा हामी धेरै पछाडि पर्यौँ,' अर्थ मन्त्रालय स्रोतले भन्यो।
माघमा ८० प्रतिशत मात्रै संकलन
सरकारले माघमा ७४ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा त्यसको ८० प्रतिशत मात्रै पुरा भएको छ। माघमा ५९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
माघमा भन्सार राजस्वतर्फ १५ अर्ब ६८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा ११ अर्ब ४६ करोड रुपैयाँ संकलन भएको छ। यसैगरी मूल्य अभिवृद्धि करतर्फ २२ अर्ब ४५ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा २० अर्ब ७९ करोड रुपैयाँ मात्रै संकलन भएको छ।
अन्त:शुल्कतर्फ सरकार लक्ष्यको धेरै पछाडि छ। ११ अर्ब ७९ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा ७ अर्ब ६ करोड रुपैयाँ मात्रै संकलन भएको छ। यसैगरी आयकरतर्फ १६ अर्ब ४१ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा १५ अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।