काठमाडौं– वर्तमान सरकारले विगत दुई वर्षमा आर्थिक सूचकांकहरु उकालो लागेको दावी गरेको छ।
सरकारको दुई वर्ष पुगेको अवसरमा प्रतिनिधिसभाकाे बैठकमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक सुधारका अनेक तथ्यांहरु प्रस्तुत गरेका छन्। प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको तथ्यांकमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको उल्लेख गरिएको छ।
प्रधानमन्त्रीको सम्बाेधनमा गरिबीको रेखामुनी रहेका जनताको संख्या घटेको दाबी गरिएको छ। रोजगारी सिर्जना बढेको प्रधानमन्त्री ओलीको दावी छ।
सरकारले प्रस्तुत गरेका सूचकहरु:
– उच्च आर्थिक वृद्धिदर हासिल गरिरेहका विश्वका १० प्रमुख मुलुकहरुको पंतिमा समावेश भएको छ। गणतन्त्र स्थापना पछिको एक दशकसम्म आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र थियो। कुनै वर्ष त हाम्रो आर्थिक वृद्धिदर ०.७४ प्रतिशत मात्रै पनि थियो। अहिले ३ वर्षयता लगातार ६.५ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि रहेको छ। गत वर्ष ७.१ प्रतिशतको आर्थिक वृद्धि थियो। विगत ३ वर्षदेखि कुनैपनि प्रदेशमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा न्यून छैन। यो २ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १८ प्रतिशतभन्दा माथि बढेको छ।
– गरिबीको रेखामुनी रहने प्रतिशत, जनसंख्याको १.५ बिन्दुले घटेको छ। आर्थिक वर्ष २०७६ को अन्त्यतिर जनसंख्याको १६.५ प्रतिशत अर्थात करिब ४८ लाख गरिबीको रेखामुनी रहने अनुमान छ।
– ६.५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गरिरहँदा त्यही अनुपातले हेर्ने हो भने पनि रोजगारीको वृद्धि स्वभाविक रुपमा २ देखि ३ प्रतिशतको बीचमा हुन्छ।
– बैंकहरुका शाखा ९ हजार ३९४ पुगेका छन्। यसरी बैंकिङ सेवाको विस्तार, यस २ वर्षको अवधिमा ४१ प्रतिशतभन्दा माथि भएको छ। ७ सय ५३ मध्ये स्थापना हुन बाँकी ८ स्थानीय तहमा पनि चाँडै नै वाणिज्य बैंकका शाखाहरु स्थापित हुँदैछन्।
– २ वर्षमा ३० प्रतिशतले व्यावसायिक कर–प्रमाणपत्र लिनेको संख्या बढेको छ।
– झण्डै रु.२ खर्बको लगानी प्रतिबद्धता थपिएको छ। लगानी बोर्डले गत डेढ वर्षमा रु. ३२३ अर्ब बराबरको बैदेशिक लगानी स्वीकृत गरेको छ।
– निर्यात २६.१ प्रतिशतले वृद्धि भएको छ भने आयात ४ प्रतिशतले घटेको छ। कूल व्यापार घाटा ६.१ प्रतिशतले घटेको छ।
– यो सरकार गठन भएपछि प्रतिदिन करिब ५.७ किलोमिटरका दरले कालोपत्रे सडक निर्माण भइरहेको छ। यस अवधिमा कूल ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको छ। ३ हजार ५ सय ७९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण भएको छ। वितेका दुई वर्षमा मात्रै ३ सय २५ वटा सडक पुल निर्माण भएका छन्। चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण भएका छन्।
– ८८ प्रतिशत जनसंख्यामा विद्युत्काे पहुँच पुगेको छ। प्रतिव्यक्ति विद्युत् खपत २४५ किलोवाट घण्टा पुगेको छ। २२.९ प्रतिशतमा रहेको विद्युत् चुहावटलाई १५.५ प्रतिशतमा झारिएको छ।
– अमेरिकी सरकारको करिब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने नेपाल–भारत विद्युत् प्रसारण लाइन परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्त्व र हैसियत प्राप्त गरेको छ।
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वार्षिक ३२ हजारभन्दा बढी अन्तर्राष्ट्रिय र झण्डै ९२ हजार आन्तरिक उडान हुने गरेका छन्।
– ६६ प्रतिशत जनसंख्याले इन्टरनेटको सुविधाको उपभोग गरेका छन्।
– भूकम्प पछिको पुनर्निर्माण अन्तर्गत गत २ वर्षमा ३ लाख ७४ हजार निजी घरको निर्माण सम्पन्न भएको छ।
– जनता आवास कार्यक्रमअन्तर्गत ८ हजार आवास इकाईहरु निर्माण गरिएका छन्।
– नेपालको विद्यालय भर्ना दर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको छ।
– स्वास्थ्य बीमा ४९ जिल्लाका २६ लाख १७ हजार ६ सय ७५ जना लाभान्वित हुनेगरी विस्तार भएको छ।
– तराई मधेसका २० जिल्लाहरुमा ४ सय ११ किलोमिटर ढल निर्माण गरिएको छ।
– सामाजिक सुरक्षा कार्यक्रममा करिब १ करोड जनता समेटिएका छन्। यस अवधिमा श्रमिकको पारिश्रमिकमा ३९ प्रतिशतले वृद्धि भएको छ। २८ लाखभन्दा बढीले कुनै न कुनै किसिमको सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन्।
– सामाजिक सुरक्षा योजनालाई राष्ट्रिय अभियानमा यस योजनामा सूचीकृत रोजगारदाताको संख्या १२ हजार १ सय ५५ र सूचीकृत श्रमिकको संख्या १ लाख ४८ हजार १ सय १ पुगेको छ।
– राजश्व अपचलन र चुहावटमा सम्लग्न ७ सय ९५ जनाविरुद्ध २६ अर्ब ७ करोड ९९ लाख रुपियाँ बिगो दावी गरी अदालतमा मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।