काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२० मा सरकारकाे लक्ष्यअनुसार पर्यटक आगमन नहुने संकेत देखिएको बताएका छन्।
शनिबार प्रतिनिधिसभामा सरकारको दुई वर्षको उपलब्धिबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमणले नेपालको लक्ष्य नपुग्ने अवस्था देखिएकाे बताएका हुन्।
प्रधानमन्त्री ओलीले सम्बाेधनका क्रममा भने, ‘भूकम्पको वर्ष ५ लाख ९० हजारमा सीमित पर्यटक गत वर्ष करिब ११ लाख र यस वर्ष १२ लाख हारहारीमा पुगेको छ। २० लाख पर्यटकको आगमन गराउन सारा प्रयास केन्द्रित गरिएको छ।’ कोराना भाइरसले अन्तराष्ट्रियस्तरमै प्रभाव पारेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘छिमेकी राष्ट्र चीनमा यो भाइरस प्रकट भएकाले भ्रमण वर्षमा प्रत्यक्ष असर पर्ने देखिएको छ।’
उनले कोरोना भाइरस फैलन नदिन भीषण प्रयास गरेकोको प्रति चीन सरकारको प्रशंसा गरे। नेपालमा कोराना भाइरस प्रवेश नगरेको जानकारी गराउँदै उनले नेपाली विद्यार्थी चीनको वुहानबाट आज आइपुग्ने जानकारी गराए।
कोरोना भाइरस प्रभावित क्षेत्रबाट फर्कनेहरुका लागि उचित प्रबन्ध सरकारले गरेको उनले प्रष्टाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।