काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा श्रम बजारमा थपिएका नयाँ जनशक्ति बेरोजगार बस्नु नपरेको बताएका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा आफ्नो २ वर्षे कार्यकाल समीक्षासहितको सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केहि वर्ष पहिले बेरोजगार रहेका व्यक्तिहरु अहिले पनि बेरोजगार रहेका भएपनि श्रम बजारमा थपिएका नयाँ जनशक्ति कोही पनि बेरोजगार बस्नु नपरेको बताए। पछिल्लो २ वर्ष अवधिमा सरकारले प्रतिवर्ष २ देखि ३ प्रतिशतका दरले बेरोजगार घटाएको प्रधानमन्त्री ओलीको दावी छ।
यस्तो छ ओलीकाे मन्तव्य
मुलुक उच्च आर्थिक वृद्धिदर भएका संसारका १० मुलुकहरुको सूचीमा छ। अलि गरीब छ, पछाडि छ। त्यसकारण त्यस्तो लाग्दैन। तर नेपाल विश्वमा तीव्र आर्थिक विकास गरिरहेका मुलुकमा परेको छ र यसले विकासको आशा देखाएको छ।
गणतन्त्र स्थापना पछिको १ दशकसम्म मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशत बराबर मात्रै थियो। कुनै वर्ष त हाम्रो वृद्धिदर शुन्य दशमलव ७ प्रतिशत बराबर मात्रै थियो। पछिल्लो ३ वर्ष लगातार हामीले ६ दशमलव ५ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिरहेका छौं।
विगत तीन वर्षदेखि कुनैपनि प्रदेशमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा न्यून छैन। यी दुई वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १८ प्रतिशतभन्दा माथिले बढेको छ। विगत २० वर्षमा हाम्रो औसत आर्थिक वृद्धिदर ४ प्रतिशत बराबर मात्रै थियो। प्रत्येक वर्ष बढिरहेको आर्थिक वृद्धिदरले गरिबीको रेखामुनी रहेको जनसंख्याको अनुपात घटाएको छ।
आजभन्दा २० वर्षअगाडि निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या ४२ प्रतिशत थियो। अहिले हामीले त्यसलाई घटाएर १६ प्रतिशतमा झारेका छौं। अब हामी गरिबी निवारण मात्र होइन उन्मुलन नै गर्नेगरी अगाडि बढदै छौं। अहिले प्रदेशको आर्थिक वृद्धिदर समानस्तरको छ। जनता आवास तथा सुरक्षित श्रमिक कार्यक्रम, श्रमिकहरुको ज्यालमा भएको वृद्धि, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रमको विस्तारले न्यून आय भएका जनतालाई थप राहत दिएको छ।
गरिबी घटाउन सहयोग पुगेको छ। बेरोजगारी घटेको छ। यसबाट उत्पादकत्व वृद्धिमा मात्र सहयोग पुगेको नभई समग्रमा आर्थिक असमानता नै घटेको छ। प्रत्येक ३ प्रतिशतको आर्थिक वृद्धिले रोजगारीमा १ प्रतिशतको वृद्धि गर्छ भन्ने मान्यता छ। हामीले ६ दशमलव ५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गरिरहँदा त्यहि अनुपातमा हेर्ने हो भने पनि रोजगारीको वृद्धि स्वभाविक रुपमा २ देखि ३ प्रतिशत बढेको छ। यसको अर्थ हामीले श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई रोजगारी दिन सकेका छौं भन्ने हो।
श्रमशक्ति जति बढेको छ, त्यहि अनुपातमा हामीले जनशक्ति बढाएका छौं र त्यसलाई पुरा गरेका छौं। हाम्रो श्रम बजारमा जति जनशक्ति प्रवेश गर्छ त्यसलाई हाम्रो रोजगारीको अवसरले भेटिरहेको छ। श्रम बजारमा पहिला भएका बेरोजगारले काम नपाएका होलान तर नयाँ बेरोजगार थपिएका छैनन्।
अहिले बरोजगारहरुको तथ्यांक श्रम मन्त्रालयले संकलन गर्दैछ। विकास निर्माणको काममा श्रमिक अभावको स्थीति छ। यसको मतलब हो, आधारभूत तहमा बेराजगारीको संख्या कम हुँदै गएको छ। हामीले थाती रहेको बेरोजगारीको पुरानो समस्यालाई समाधान गर्न सकेनौं होला। तर, श्रम बजारमा जति थपिएका छन्। तिनीहरुमध्ये अधिकांशलाई सम्बोधन गर्न सकेका छौं। उपलब्ध जनशक्तिमा रहेको सीपको अभाव वा बेमेलका कारण जगेडा श्रमिक बीच अभावको अवस्था सिर्जना हुन पुगेको छ।
जीवनोपयोगी शिक्षाको अभावमा शिक्षा, रोजगारी, पेशा र व्यवसायसँग आर्जित ज्ञान जोडिन सकेको छैन। जसले एक प्रकारको शिक्षित बेरोजगारहरुको जमात पैदा हुन पुगेको छ। शिक्षित बेरोजगारहरुलाई उच्चस्तरको सीप र ज्ञान सहितको रोजगारमा ल्याउन बाँकी छ। अब हामीले शिक्षालाई सीप र प्रविधिसँग जोडेर उद्यमशीलता विकास गर्दै स्वरोजगारी बढाउनु छ।
तस्बिर रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।