दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्थमन्त्री युवराज खतिवडाले गलत आँकडा देखाएर भ्रमको खेती गरेको आरोप लगाएका छन्।
जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याएको तर जनताको आश्वासन पूरा गर्न नसक्ने भएपछि अर्थतन्त्रको गलत आँकडा देखाएको पौडेले तर्क गरे। तनहुँको घिरिङ गाउँपालिका–२ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काम गर्न नसेक्ने भएपछि अर्थमन्त्रीले संसदमा झुट बोलेको आरोप लगाए।
‘जनतालाई विभिन्न आश्वासन बाँडेर बाम गठबन्धनले भोट ल्याए। तर अहिले काम गर्न नसक्ने भएपछि अर्थतन्त्रको गलत आँकडा देखाएर फेरि भ्रमको खेती गर्न लागेका छन्।’, पौडेलले भने, ‘उनीहरु अहिले जनतालाई बाँडेको आश्वासन पुरा गर्न नसक्ने भएपछि नाटक मञ्चनमा लागेका हुन्।’
वरिष्ठ नेता पौडेलले साँच्चै कम्युनिष्ट एक भएका हुन् भने कम्युनिष्ट व्यवस्था लागू गरेर देखाउन चुनौति दिए। नेता पौडेलले भने, ‘कम्युनिष्ठ एकताको अहिले नाटक मञ्चन भइरहेको छ। साँच्चै कम्युनिष्ट एकता भएको हो भने कम्युनिष्ट शासन लगाउँथे तर मिलेर मुलुकको दोहन गर्ने रणनीति मात्र हो।’
उनले २०४८ सालमा कांग्रेसले कमजोर अर्थतन्त्रलाई सुधार गरेर मुलुकको विकास गरेको उल्लेख गर्दै कांग्रेसका कारण २०४८ सालको कमजोर अर्थतन्त्र अहिले कुन अवस्थामा पुगेको छ? भन्दै प्रश्न गरे।
नेता पौडेलले कांग्रेसले गाँउमा बाटो बिजुली, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सुविधा पुर्याएको बताउँदै अहिले कांग्रेसको उद्देश्य विगतको जस्तो नभई ‘गाँउमा आम्दानी गाँउमा नै रोजगारी’ पुर्याउने भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।