बुटवल- बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ। निर्माण हुन लागेको उक्त भवन १० तलाको हुने बताइएको छ।
नयाँ भवन निर्माणका लागि सरकारले गुरुयोजना निर्माणको काम गरिरहेको छ।
गुरुयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ७ अर्बको लागत अनुमान गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनालले जानकारी दिए।
अस्पताल १२ सय शैय्याको हुनेछ। भवनको माथि हेलिप्याड समेत रहने उल्लेख गरिएको छ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बनाइने बताइएको छ।
प्रदेश-५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
नयाँ बन्न लागेको गुरुयोजना तथा आधुनिक भवनको ड्रोइङ र डिजाइनबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ।
छलफलमा मुख्यमन्त्री शंकर पोखरेलसहित आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्री तथा बुटवल उपमहानगरपालिकाका प्रमुख, योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायधिवत्ता, प्रमुख सचिव, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष, प्रमुख मेडिकल सुपरिटेण्डेन तथा मन्त्रालयका सचिवहरु सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।