काठमाडौं– सरकारले सुन तथा चाँदीको नापतौलमा जालसाजी गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ संसोधन गर्ने भएको छ। ऐन संशोधनका लागि तयार भएको विधेयक प्रतिनिधि सभामा दर्ता गर्नसमेत मन्त्रिपरिषदले स्वीकृति दिएको छ।
सरकारले स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्दै नापतौलमा ठगी गर्नेलाई गर्ने कारबाहीको दायरा बढाउन खोजेको छ। पुरानो ऐनमा १ हजार रुपैयाँ कारबाही हुने व्यवस्था परिर्वतन गर्दा पनि गुणस्तर तथा नापतौल विभागले कुनै ठूलो कारबाही गर्न सक्ने गरी कानुन संशोधन गर्न लागेको छैन।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालले नेपाल गुणस्तर तथा नापतौल विभागको सहयोगमा तयार भएको विधेयकमा वस्तुको उत्पादन वा बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले आफूले उत्पादन वा बिक्री वितरण गर्ने वस्तुको नाप वा तौलको परिमाण यकीन गर्न नाप्ने वा तौलने यन्त्र सम्बन्धित उद्योग वा बिक्री वितरण स्थलमा राख्नु पर्ने उल्लेख छ। यसरी नाप्ने वा तौलने यन्त्र वितरण स्थलमा नराखे एक हजार रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ।
यसैगरी कुनै खास क्षेत्रभित्र कुनै खास व्यापार, लेनदेन वा करारका सम्बन्धमा खास–खास शर्तहरुका अधीनमा रही नापेर वा तौलेर मात्र कारोबार गर्नु पर्ने विषय पनि विधेयकमा राखिएका छ। तर, यसविपरीत काम गरेमा पाँच हजार रूपैयाँदेखि दश हजार रूपैयाँसम्म जरिवाना हुने भनिएको छ।
साथै विधेयकमा व्यापारी तथा व्यावसायीले नाप्ने या तौलने यन्त्र प्रयोग गर्न तोकिएको समयभित्र तोकिएको दस्तुर तिरी आफ्नो नाम दर्ता गराई निरीक्षकबाट अनुमतिपत्र लिनुपर्ने भनिएको छ। यसरी अनुमति नलिइ नाप तौल वा नाप्ने यन्त्र प्रयोग गरेमा एक हजार रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना हुने विधेयकमा उल्लेख छ।
यसबाहेक प्याकेजमा रहेका वस्तुको नाप वा तौल स्पष्ट उल्लेख गरी सो प्याकेजमा लेबल लगाएको हुनुपर्ने विधेयकमा उल्लेख छ। लेबल नलगाइएको वस्तुको प्याकेज कसैले बेच्न, बेच्न लगाउन वा बेच्ने उद्देश्यले राख्न पनि पाउने छैनन्। तर, यसविपरीत काम गरेमा पाँच हजार रूपैयाँदेखि दश हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था विधेयकमा छ।
यसैगरी, कुनै वस्तुको नाप वा तौलका आधारमा बिक्री वा कारोबार गर्दा जुन नाप वा तौलको परिमाणको खरिद बिक्री वा कारोबार गरेको हो सो नाप वा तौलले निश्चित गरेको परिमाणभन्दा घटी बढी गरी लिए वा लिन लगाए वा दिए वा दिन लगाएमा निजलाई पाँच हजार रुपैँयादेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने विषय पनि विधेयकमा समावेश गरिएको छ।
यस्तै प्रकृतिको केस हुने निर्माण सामग्री वा सुन, चाँदी वा मूल्यवान धातु वा पेट्रोलियम पदार्थ वा एलपीजी सिलिन्डर वा उद्योग कलकारखानाको हकमा निजलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने विधेयकमा उल्लेख छ। स्टाण्डर्ड नाप वा तौलबाहेक अरु किसिमको नाप वा तौल प्रयोग गरेमा २५ हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था पनि विधेयकमा राखिएको छ। यसैगरी, व्यापारिक कारोबार गर्दा त्यस्तो कारोबारका लागि अनुमति लिए बमोजिमको नाप्ने वा तौलने यन्त्र प्रयोग गर्नु पर्ने विधेयकमा उल्लेख छ।
त्यस्तै, नाप्ने वा तौलने यन्त्र प्रयोग नगरी अन्य तरिकाबाट कारोबार गर्न नपाइने विधेयकमा उल्लेख छ। कसैले यस ऐनविपरीत हुने गरी नाप्ने वा तौलने यन्त्र बिक्री वितरण वा प्रयोग गरेको पाइएमा निरीक्षकले त्यस्तो यन्त्र प्रयोगमा रोक लगाउन, नियन्त्रणमा लिन वा जफत गर्न सक्ने र २५ हजार रूपैयाँसम्म जरिवानासमेत गर्ने विधेयकमा उल्लेख छ।
यसैगरी, निरीक्षकबाट तोकिएको दस्तुर तिरेर तोकिएबमोजिम इजाजत प्राप्त नगरी कुनै व्यक्तिले आफ्नो व्यापारको सिलसिलामा व्यापारिक नाप्ने वा तौलने यन्त्र बनाउन, मर्मत गर्न बिक्री गर्न वा तोकिएको नाप्ने वा तौलने सेवाको व्यवसाय गन पाउँने छैनन्। नाप्ने वा तौलने यन्त्र उत्पादन वा पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले त्यस्तो यन्त्र उत्पादन वा पैठारी गर्नुअघि विभागबाट नमूनाको अनुमति लिनु पर्ने विषय पनि विधेयकमा समावेश गरिएको छ। तर, कुनै व्यावसायीले यसविपरीत काम गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने विधेयकमा उल्लेख छ।
साथै कसैले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमको विपरीत हुने अन्य कुनै कार्य गरेमा दश हजार रूपैयाँसम्म जरिवाना गरिने विषय समावेश गरिएको छ।
साथै, कसैले कुनै स्टाण्डर्ड नाप वा नाप्ने वा तौलने यन्त्रमार्फत् जाली वा घटी बढी बनाएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने विधेयकमा उल्लेख छ। यसैगरी जाली वा घटी बढी नाप्ने वा तौलने यन्त्र जानीजानी सक्कली रुपमा व्यवहार गरेमा वा व्यवहार गर्ने उद्देश्यले राखेमा वा बिक्री गरे गराए पनि तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ विधेयकमा उल्लेख छ।
साथै नाप्ने वा तौल्ने यन्त्रमा लगाउने टाँचा बिगारेमा वा जाली टाँचा लगाएमा वा लगाउन लगाएमा पनि तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
नाप्ने वा तौलने यन्त्रमा वास्तविकभन्दा बाहेकका अन्य कुनै यन्त्र वा त्यस्तै कुनै वस्तु प्रयोग गरी घटी–बढी गराएमा वा गराउने उद्देश्यले राखेमा पनि तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने विधेयकमा उल्लेख छ। साथै कुनै प्रविधि प्रयोग गरी सफ्टवेयर जाली बनाई नाप वा तौलको परिमाणमा घटी वा बढी गराएमा पनि तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय विधेयकमा भनिएको छ।
साथै यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमको विपरीत हुने गरी निरीक्षकले जानीजानी नाप तौल वा नाप्ने वा तौलने यन्त्रमा टाँचा लगाएमा निजलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।