विराटनगर- विराटनगरको होटेल बिगको सभाहल बिहीबार भरिभराउ थियो। उद्यमी तथा व्यवसायीहरुको बाक्लै उपस्थिति थियो। ३ बजेको लागि निर्धारित कार्यक्रम आधा घण्टा ढिला गरी सुरु भएको थियो।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारी घोषणाको कार्यक्रम थियो यो। जिल्ला नगरतर्फबाट उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गर्न एक कार्यक्रमको आयोजना गरेका थिए।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्षद्वय कुशकुमार जोशी र विनोदबहादुर श्रेष्ठसहित ३५ जिल्ला-नगर अध्यक्षको उपस्थिति थियो। उपस्थित हुन नसकेका २७ जिल्ला-नगरले समर्थनसहितको प्रतिबद्धता पत्र पठाएका थिए।
महासंघका केन्द्रीय सदस्यहरू देवकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ, कृष्ण दुलाल, अशोक टेमानी, अञ्जन श्रेष्ठ र गणेश लाभ पनि प्रधानको समर्थन गर्न विराटनगर पुगेका थिए। उद्योगी व्यवसायीको पक्षमा काम गर्ने नेतृत्व अबको आवश्यकता भएकोले आफूहरू सहभागी भएको उनीहरूको भनाइ थियो। निक्कै उत्साहमा देखिएका उनीहरू प्रधानको उम्मेदवारीले उद्योगीमा नयाँ ऊर्जा संचार भएको बताउँछन्।
आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा भावुक देखिएका प्रधानले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए। आफूले एजेन्डा लेखेर ल्याएको भए पनि वाचन नगर्ने उद्धघोष गरे उनले। अग्रजहरूको सहयोग र उद्योगी/व्यवसायीहरूको समर्थनले आफू अत्यन्तै खुसी भएको उनले बताए। उनले भने, ‘म तपाईंहरूले जे भन्नुहुन्छ, जे अह्राउनुहुन्छ त्यही गर्छु। म धेरै बोल्दिनँ बरु काम नै गर्छु।’
आगामी निर्वाचन आफ्नो २६ वर्षे इतिहासको कर्म र इमान्दारिता परीक्षासमेत भएको उनको भनाइ थियो। यही नै आफ्नो अन्तिम अवसर भएकोले निर्वाचनमा सफल बनाइदिन सम्पूर्णलाई आग्रह गरे। प्रधानले उम्मेदवारी घोषणा गर्नुअघि गृहनगर बाग्लुङबाट डेढ महिना पहिले चन्द्रप्रसाद ढकालले सोही पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
आफ्ना प्रतिद्वन्द्वी ढकालप्रति कटाक्ष गर्दै उनले भने, 'मैले राजधानी काठमाडौंमा मात्र होइन, जिल्लाजिल्लामा गएर बैङ्कको ब्याज चर्को भयो भनेर आन्दोलनमा भाग लिएको छु।' सबभन्दा ठूलो बैङ्कको अध्यक्ष सँगनै चुनाव लड्नुपर्ने भएकोले यो आफ्नो लागि चुनौती भएको उनको भनाइ थियो। मन्तव्यको अन्यत्यमा, ‘जिन्दगी हर कदम एक नयी मोड है, जित जाएङ्गे हम’ भन्ने हिन्दी गीतको टुक्रा सुनाएका थिए।
महासंघको साख जोगाउने जिम्मा अबको नेतृत्वमा
हालका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार शेखर गोल्छाले प्रधानजस्तै इमान्दार र भिजनरी मान्छे टिममा भए मात्र आफू सफल हुने बताए। महासंघको गुमेको साख जोगाउन अबको नेतृत्व लागी पर्ने उनको भनाइ थियो। अब २ महिनापछि आफूले नेतृत्व लिन लागेको चर्चा गर्दै आफू एक्लैले केही गर्न नसक्ने र यसका लागि सशक्त टिम चाहिने धारणा राखे।
‘किशोरजी जस्तो महासङ्घमा समय दिन सक्ने र अनुभव भएको व्यक्तिको आवश्यकता मेरो टिममा छ,’ उनले भने, ‘म पनि अबका ३ वर्ष पूरै महासंघलाई समय दिन्छु। मेरो शतप्रतिशत समय र क्षमता महासंघकै लागि हुनेछ।’
पूर्व अध्यक्ष चण्डी ढकालप्रति इङ्गित गर्दै उनले भने, ‘केही समयअघि एक जना पूर्व अध्यक्षले भन्नुभएछ, शेखर एक्लैले केही गर्न सक्तैन। सम्पूर्ण टीम मेरो आउने हो।’
निकै आक्रोशित मुद्रामा देखिएका उनले आफू रबरस्टाम्प बन्न महासङ्घमा अध्यक्ष बन्न नलागेको बताए। ‘महासंघको गुमेको साख फिर्ता गर्न सक्ने टिम चाहिन्छ र यो टिममा किशोरजी योग्य हुनुहुन्छ,’ उनको भनाइ थियो।
पूर्व अध्यक्ष ढकालले घोषणासभामा गएमा करियर नै सिद्ध्याइदिने धम्की दिएको सुनिएको उनले उल्लेख गरे। उनले भने, 'त्यस्ता हावा तर्कको पछाडि नलाग्ने आग्रह गर्छु।'
‘म अध्यक्ष भएको ६ महिनाभित्र महासंघको सम्पूर्ण हिसाबको अडिट गराउनेछु र सबै हिसाब वेबसाइटमा राख्नेछु। त्यो हिसाब हरेक दिन अपडेट हुन्छ,’ उनले भने। जिल्लाले चाहेजस्तो गरी ९ महिनाभित्र विधान संशोधन गरी महासंघलाई पारदर्शी र भिजनरी बनाइने प्रतिबद्धता उनको थियो।
त्यस्तै महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिलेसम्मका १८-२० वटा बैठकमा के छलफल भयो र व्यवसायी तथा निजी क्षेत्रका कुन एजेन्डामा विमर्श गरियो भन्नेबारे अझै अन्योल रहेको बताए। शुद्धीकरण अनि सुदृढीकरणको खाँचो औँल्याउँदै मुरारकाले त्यसको लागि गोल्छा र प्रधानको टिम सक्षम हुने उनको विश्वास थियो।
‘काम गर्न सक्षम तर आर्थिक रूपमा कमजोरले चुनाव लड्न पाउने कि नपाउने?,’ आक्रोशको शैलीमा उनले प्रश्न गरे, ‘हामी कसैका र कुनै पार्टीका कार्यकर्ता होइनौँ। आज महासंघमा अध्यक्षको पद गौण र निरीह भएको छ। एक व्यक्ति हाबी हुन खोजेका छन् र तँ बोल् तैँले बोल्नु पर्छ भनेर अर्डर फर्माउने गरेका छन्। यस्तो अवस्थाको अन्त्य जरुरी छ। त्यसैले हामीले किशोरजीलाई समर्थन गरेका हौँ।’
आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालको उदाहरण दिँदै उनले केजरीवालले कुचोले बढारेझैँ महासंघमा पनि बढारेर शुद्धीकरण गर्नुपर्ने अवस्था रहेको बताए। महासंघमा एकता नभएकाले निजी क्षेत्रका कुरा दह्रो गरी राखिदिने काम विगत ४-५ वर्षदेखि नभएको टिप्पणी गरे।
पूर्व अध्यक्ष कुशकुमार जोशीले सरकारका लागि बलियो प्रतिपक्ष नभएको अवस्थामा महासंघ निजी क्षेत्रको विकासका लागि बलियो प्रतिपक्षका रूपमा उभिनुपर्ने राय प्रस्तुत गरे। ‘हामी अधिकारसहितको सङ्घीयतामा जाने हो भने महासङ्घको निर्वाचनभन्दा पहिले प्रदेशको चुनाव गराउनु पर्छ,’ उनले भने, ‘प्रदेशका अध्यक्ष महासंघको उपाध्यक्ष हुने विधान बनाउनु पर्छ।’
अर्का पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठ पनि महासंघमा शुद्धीकरणका खाँचो रहेको बताउँछन्। किशोर प्रधानलगायतको टिमले महासङ्घमा नयाँपन दिने उनले विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।