काठमाडौं- चुनीखेल कपन बुढानिलकण्ठस्थित नवजिवन फर्मा हाउसमा कार्यरत पाँचथरका दलकुमार तामाङले पारिश्रमिक माग गर्दा कम्पनी सञ्चालकले बिजुलीलगायत कम्पनीको खर्चको बिल पेश गरेका छन्।
श्रम ऐनले तोकेबमोजिम पारिश्रमिकलगायत सेवासुविधा माग गर्दै श्रमिकले श्रम कार्यालय काठमाडौं टेकुमा उजुरी गरेपछि पारिश्रमिक दिन बाँकी नरहेका आधारहरु पेश गर्दै कम्पनी सञ्चालक पवनबहादुर महताराले कम्पनीको सम्पूर्ण खर्चको बिल पेश गरेका हुन्।
.jpg)
दलकुमारलाई खाने व्यवस्था गरिदिएको र कोठाको बिजुलीलगायत खर्च समेत फर्माले नै बेहोरेको भन्दै कम्पनीका अन्य विविध खर्चका शीर्षकहरु जम्मा पारेर कार्यालयमा पेश गरेको छ।
फर्माले दलकुमारलाई उपलब्ध गराएको सेवासुविधाको सबै खर्च जोड्दा उनको मागदावीभन्दा बढी देखिएकाले बाँकी रकम दिन नपर्ने भन्दै फर्माले श्रम कार्यालय टेकुमा लिखित जवाफ पेश गरेको हो।
घटना के हो?
२०७५ माघदेखि दलकुमारले नवजिवन फर्मामा काम सुरु गरे। बिहानदेखि बेलुकासम्म दैनिक १४ घण्टासम्म काममा खट्नुपर्थ्यो।
फर्मामा विभिन्न बिरुवाहरु उत्पादन, गोडमेल स्याहारसुसार लगायत काम थियो। मासिक ५ हजारमात्र पारिश्रमिक थियो। खाने व्यवस्था कम्पनीले नै गरिदिएको थियो।
कामबाट निस्किने बेलामा एकमुस्ट रकम दिने वा आर्थिक लाभ हुने कुनै वस्तु उपलब्ध गराउने तथा पारिश्रमिक बढाउने गरी कामदार र कम्पनीबीच मौखिक शर्त भएको थियो।
‘काम सुरु गरेको ३ महिनापछि २०७५ चैत १ गतेदेखि मेरो पारिश्रमिक कम्पनीले ७ हजारका दरले बढायो, काममा दैनिक १४ घण्टासम्म खट्नुपर्थ्यो तर काम छाड्ने बेलामा कुनै पनि सेवासुविधा दिएन‚’ दलकुमारले नेपाल लाइभलाई सुनाए।
दैनिक १४ घण्टा काममा खट्दा पनि श्रम ऐनअनुसार पारिश्रमिक समेत नपाएका दलकुमारले मौखिक शर्तअनुसार सेवासुविधासमेत नपाएपछि गत माघ ६ गते कम्पनीलाई लिखित पत्राचार गरे।
.jpg)
कम्पनीले बेवास्ता गरेपछि उनले माघ ९ गते श्रम कार्यालय टेकुमा पारिश्रमिकलगायत सेवासुविधाको मागदावी गर्दै उजुरी गरेका छन्।
ऐनअनुसारको पारिश्रमिक, ग्रेड, सञ्चयकोष, उपदान, भत्ता, बोनस, बिदालगायत अन्य सेवासुविधा गरेर आफूले १ लाख ६४ हजार ९ सय ८४ रुपैयाँ फर्माबाट पाउन बाँकी रहेको उजुरीमा उल्लेख छ।
आफूलाई चरम श्रम शोषण गरेको तर मौखिक शर्त पालना नगरेका कारण आफू न्यायको ढोका घच्घच्याउन बाध्य भएको श्रमिक दलकुमारले बताए।
यतिबेला फर्माले पनि उनीसँग कुनै मौखिक शर्त नराखेको बताउन थालेको छ।
के भन्छ फर्मा
फर्माका सञ्चालक पवनबहादुर महताराले कोठामा बस्दा दलकुमारले हिटरसमेत प्रयोग गरेकाले बिजुलीको बिलसमेत पेश गरेको बताए।
‘श्रम ऐनले खाने कुराको व्यवस्था गर्नु भनेको छैन, फर्माबाट उनकै लागि खानामा भएको खर्चको बिल पनि मैले जोडेको हो। खाना र सबै खर्च गर्दा ऐनअनुसार तलब दिएजस्तै हो‚’ सञ्चालक महताराले जिकीर गरे।
‘फर्माको खर्च के छ र? फर्मा त्यति धेरै ठूलो छैन, कम्पनीको कामदार ऊ एक्लै हो। सबै खर्च उसकै लागि भएको हो‚’ सञ्चालक महताराले नेपाल लाइभसँग भने।
.jpg)
उनले अन्य कामदारलाई काम लगाएर दिएको ज्यालासमेत दलकुमारले गरेको खर्चमा देखाएका छन्।
यसअघि पनि फर्मा सञ्चालक महताराले अन्य श्रमिकहरुलाई पनि विभिन्न प्रलोभन देखाएर काम लगाउने तर पारिश्रमिक नदिने गरेको श्रमिकको आरोप छ।
रोजगारदाताको हावी : कार्यालय प्रमुख बस्नेत
ऐनअनुसार पारिश्रमिकलगायत सेवासुविधा नपाएका दैनिक ५ देखि ६ वटासम्म उजुरी श्रम कार्यालय टेकुमा आउने गरेको कार्यालय प्रमुख खगेन्द्रबहादुर बस्नेतले बताए।
उजुरी उपर रोजगारदाता र श्रमिकबीच छलफल गराई समस्या समाधानको काम कार्यालयले गर्दै आएको छ।
‘पछिल्लो समय रोजगारदाता हावी हुँदा पनि श्रमिकहरुले ऐनअनुसार पारिश्रमिक पाउन सकेका छैनन्, कतिपय श्रमिकहरुलाई आफूले पाउने हक अधिकारका बारेमा जानकारी नहुँदा समेत उनीहरु सस्तो पारिश्रमिकमा काम गर्न बाध्य छन्‚’ कार्यालय प्रमुख बस्नेतले भने।
ऐनअनुसार कुनैपनि कम्पनीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० छ । जसमा उपदान, भत्ता, बोनस, बिदा लगायतका अन्य सेवासुविधाहरु समेत समावेश छन् । तर श्रमिकहरु न्यूनतम पारिश्रमिक बाट नै बञ्चित छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।