काठमाडौं- नेपाल टेलिकमको आम्दानी ४४ करोड रुपैयाँले घटेको छ। कम्पनीको रिचार्ज कार्डबाट हुने आम्दानीको गणना विधि परिवर्तन हुँदा आम्दानीमा गिरावट आएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए।
'गएका आर्थिक वर्षमा एक सय रुपैयाँको रिचार्ज कार्ड बिक्री गर्दा एक सय रुपैयाँलाई नै आम्दानीको रुपमा गणना गरिन्थ्यो। आन्तरिक राजस्वको निर्देशन पछि कार्ड बिक्रेताहरुलाई डिस्काउन्ट प्रणालीमा १०० रुपैयाँको रिचार्ज कार्ड बिक्री गर्दा ९६ रुपैयाँमा मात्रै गणना गरिने प्रणालीको विकास भयो,' उनले भने।
आन्तरिक राजस्वको निर्देशनपछि यस्तो प्रणाली यसै आर्थिक वर्षको चैतमा कार्यान्वयन भएको हो। आम्दानीमा गणना गर्न नमिलेको यस्तो रकममात्रै ६३ करोड ६० लाख रुपैयाँ रहेको अधिकारीले जानकारी दिए। उनले भने 'यस्तो आम्दानीलाई पनि गणना गर्न मिल्ने हो भने नेपाल टेलिकमको आम्दानी गत वर्षको भन्दा २३ करोड रुपैयाँले बढ्छ,' उनले भने।
नेपाल टेलिकमको नाफा गत वर्षको भन्दा एक करोड ५५ लाख रुपैयाँले घटेको छ। यसै वर्षदेखि कर्मचारीहरुको तलब भत्ता १८ देखि २० प्रतिशतले बढाउँदा कम्पनीको नाफामा कमि आएको कम्पनीले जनाएको छ। यसका साथै नेपाल टेलिकमले फोर जी लाइसेन्सका लागि राजस्व भुक्तानी गर्नु परेकोले पनि खर्च बढेको अधिकारीले बताए।
अर्बौ रुपैयाँको सम्पत्ती बोकेर बसेको नेपाल टेलिकमलाई सोही सम्पत्तीले असर पुर्याएको छ। उक्त सम्पत्तिमा हुने ह्रास कट्टीले गएका केही वर्षदेखि नाफामा असर पुर्याउँदै आएको छ। हाल नेपाल टेलिकमको ४१ अर्ब ६ करोड रुपैयाँको सम्पत्ति तथा उपकरण छन्। यस्तो सम्पत्ति गत वर्षको भन्दा बढिरहेको छ। बजार मूल्याङ्कनका आधारमा जग्गाको भाउ बढे पनि अन्य विद्युतीय उपकरण तथा सामग्रीमा भने हरेक वर्ष ह्रास कट्टी गर्नु पर्ने हुन्छ।
नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार अर्ब ९३ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा चार अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। दुरसञ्चारसम्बन्धी सेवा प्रदान गरेर नेपाल टेलिकमले १८ अर्ब तीन करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले १८ अर्ब ४४ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो। दुरञ्चार सेवा र अन्य आम्दानीसहित १९ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ।
कम्पनीको कर्मचारी खर्च, प्रशासनिक खर्च, नियामकीय शुल्क बढेको छ। नाफामा घट्दा प्रतिशेयर आम्दानी एक रुपैयाँले घटेर ६५ रुपैयाँमा झरेको छ। पछिल्लो समय भ्वाइस सेवामार्फत हुने आम्दानीमा गिरावट आउँदा दुसञ्चार सेवा प्रदायक कम्पनीको नाफामा गिरावट देखिँदै आएको छ। विदेशमा बसेका नेपालीले समाजिक सञ्जालमार्फत कुराकानी गर्न थालेपछि नेपाल टेलिकमको नाफामा केही वर्षदेखि गिरावट आएको थियाे।
भ्वाइस सेवाबाट हुने आम्दानीमा गिरावट आउन थालेसँगै नेपाल टेलिकमले इन्टरनेट सेवाबाट आम्दानी बढाउने उद्देश्यले देशैभरि फोरजी बिस्तार गरिरहेको छ। टेलिकमले फोर जी बिस्तार ७७ वटै जिल्लामा गरिरहेको अधिकारीले बताए। उनले भने, 'फोरजी कार्यान्वयन सँगै नेपाल टेलिकमको आम्दानीमा थप सुधार हुने छ र नाफामा उल्लेख्य सुधार हुने अपेक्षा गरेका छौ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।