काठमाडौं- एनआइसी एसिया बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
एनआइसी एसिया बैंकका तर्फबाट सीईओ रोशनकुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथलीस्थित प्रधान कार्यालयमा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सो सम्झौताअनुसार अब एनआइसी एसिया बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र खल्ती को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
यसैक्रममा एनआइसी एसिया बैंकका सीइओ रोशनकुमार न्यौपानेले भने, ‘हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तीय समस्याहरु समाधान गर्न खोजिराखेका छौँ। यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ।’
एनआइसी एसिया बैंकले मुलुकभर हाल ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ३० एटिएम, १ सय ४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।