काठमाडौं- अन्तर्राष्ट्रिय वित्त निगम 'आइएफसी' ले अन्तर्राष्ट्रिय बजारमा २० मिलियन अमेरिकी डलरको अफसोर बण्ड जारी गर्ने अनुमति पाएको छ।
निगमलाई नेपाल सरकारले अन्तर्राष्ट्रिय बजारबाट नेपाली मुद्रामा अंकित अफसोर बण्ड जारी गर्ने स्वीकृति प्रदान गरेको हो।
उक्त बण्ड अन्तर्राष्ट्रिय वित्त बजारमा जारी गरिनेछ। निगमले अन्तर्राष्ट्रिय बजारबाट उक्त ऋणपत्र मार्फत दुई अर्ब २८ करोड रुपैयाँ हाराहारीमा विदेशी पैसा भित्र्याउने छ। नेपालमा लगानी योग्य रकमको अभाव भएपछि नेपाल सरकारले वैदेशिक लगानी, ऋण तथा ऋणपत्र नेपालमा ल्याउन आह्वान गर्दै आएको छ।
यस अगाडि नेपाल इन्फ्रास्ट्रक्सर डेभलपमेन्ट बैंकले पनि ५ अर्ब रुपैयाँको अफसोर बण्ड भित्र्याउने पहल गरेको थियो। हाल बैंकले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ।
नेपाली कम्पनीले विदेशमा सिधै बण्ड जारी गर्न सक्दैनन्‚ त्यसैले विदेशमा नाम चलेका कम्पनीमार्फत नेपालकै कम्पनीहरुको नाममा यस्तो बण्ड जारी गर्न पाउँछन्।
ऋणपत्रको ब्याजदर तत्कालीन बजारका आधारमा तय हुन्छ। यदि उक्त ब्याजदरमा पैसा ल्याउँदा फाइदा हुने भयो भने अन्तर्राष्ट्रिय बजारमा जारी गरिन्छ। तर महंगो हुने देखियो भने जारी नगर्न पनि पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।