काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार डेढ अर्ब घटाएको बताएका छन्।
चालु आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्न बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटको आकार घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमा झारेको बताएका हुन्।
गत जेठमा संसदमा प्रस्तुत गरेको बजेटको कुल आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको रहेको थियो।
आर्थिक वर्षको अन्त्यसम्ममा कुल बजेटको ९० दशमलव ४ प्रतिशत बजेट खर्च हुने अनुमानअनुसार बजेटको आकार घटाइएको उनको भनाइ छ।
अर्धवार्षिक समीक्षामा चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैयाँ अर्थात् विनियोजित बजेटको ९४ दशमलव ५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ भने पूँजीगत तर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ अर्थात् ८० दशमलव १ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।
त्यस्तै वित्तीय व्यवस्थापत तर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख अर्थात ९२ दशमलव २ प्रतिशत खर्च हुने अनुमान गरिएको मन्त्री खतिवडा बताए। सरकारको स्रोत व्यवस्थापत तर्फ राजश्व र आन्तरिक ऋणबाट कुल ११ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ, वैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको समेत अर्थमन्त्री खतिवडाले बताए। जुन बजेटमा राखिएको लक्ष्यको साढे ९५ प्रतिशत मात्र हुने उनले बताए।
अर्थमन्त्री खतिवडाले ६ महिनामा विनियोजित बजेटको २७ दशमलव ६ प्रतिशत अर्थात ४ खर्ब २२ खर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट खर्च भएको बताए।
'चालु तर्फ ३२ दशमलव ४ प्रतिशत अर्थात ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ, पूँजीगत तर्फ १५ दशमलव ४ प्रतिशत अर्थात् ६२ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ र वित्तीय व्यवस्था तर्फ २९ दशमलव ९ प्रतिशत अर्थात् ५० अर्ब १७ करोड ७० लाख रुपैयाँ खर्च भएको छ,' उनले भने।
उनले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ प्रतिशतले खर्च बढेको र माघ २८ गते सम्ममा यस्तो बजेट खर्च ४ खर्ब ८२ अर्ब पुगेको समेत उनले बताए।
अर्थमन्त्री खतिवडाले ६ महिनामा कुल व्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको उल्लेख गरे। यो अवधिमा कुल वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै रेमिट्यान्स आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।