काठमाडौं- प्रदेशको नाम बागमती कायम भएको महिना दिन बितिसक्दा समेत सवारी साधनको नम्बर प्लेट प्रदेश नं ३ कै नाममा जारी भइरहेको पाइएको छ।
प्रदेश ३ को प्रदेश सभाले आफ्नो नाम बागमती रहने सर्वसम्मतीले पारित गरेको थियो। तर हालसम्म पनि बागमती प्रदेशअन्तर्गतका दुई कार्यालयले प्रदेश नं ३ कै नाममा नम्बर प्लेट दिइरहेका छन्।
पुस २७ गते प्रदेश राजपत्रमा प्रदेश ३ को नाम बागमती प्रदेश र राजधानी हेटौंडा रहने गरी सूचना प्रकाशित भएको थियो। इम्बोस्ड नम्बर प्लेट आउने भएकाले पनि केही विलम्ब भएको कार्यालयहरुको भनाइ छ। हेटौंडामा रहेको यातायात व्यवस्था सेवा कार्यालय (जसलाई सवारी दर्ताको अधिकार पनि छ)ले भने माघ १ गतेदेखि बागमती प्रदेशकै नाममा सवारी नम्बर प्लेट उपलब्ध गराएको जनाएको छ।
सवारी दर्ताको सिस्टममा प्रदेश नम्बर ३ लेखिएका र रसिद सोही नाममा आउने भएकाले बागमती नाम लेख्दा दोहोरो हुने देखिएकाले केही विलम्ब भएको सतुंगलस्थित मोटरसाइकल कार्यालयका प्रमुख दिपक पोख्रेलले बताए।
‘हामी विभाग तथा हाम्रो मन्त्रालयसँग छलफलमै छौं,’ उनले भने, ‘फागुन १ गतेदेखि मोटरसाइकल कार्यालयमा नयाँ दर्ता हुने मोटरसाइकलमा बागमती प्रदेश लेखेर दिन्छौं।’
सवारी दर्ताको रसिद प्रदेश ३ कै नाममा दिएर भएपनि मोटरसाइकल कार्यालयले फागुन १ देखि बागमती प्रदेश लेखेर नम्बर प्लेट दिने तयारी गरेको पोख्रेलले नेपाल लाइभसँग भने, ‘प्रदेश सरकारले राजपत्रमा नाम प्रकाशित गरेपछि मन्त्रालयबाट परिपत्र आइसकेको छ। प्राविधिक रुपमा मिलाउनुपर्ने भएकाले केही ढिला भएको हो।’
बागमती प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दर्ता हुँदै आएका छन्। प्रदेश ३ को नाममा मोटरसाइकल दर्ता हुन थालेयता १ लाख ५० हजारभन्दा धेरै मोटरसाइकल दर्ता भइसकेका छन्।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारीको लट दोहोरो अंकमा मात्र हुने व्यवस्था थियो।
२०७५ असोजमा साविक बागमती अञ्चल कार्यालयमा ९९ सय लट सकिएपछि सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरेर प्रदेश नम्बर ३ का नाममा कात्तिकदेखि सवारी दर्ता सुरु गरिएको थियो।
गएको पुसमा बागमती प्रदेश नामाकरण भएपछि एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयले साना/ठूला सवारीले पनि प्रदेश नं ३ कै नाममा सवारी दर्ता गरिरहेको छ।
प्रदेश मन्त्रालयबाट परिपत्र भएर आएपनि प्राविधिक समस्याका कारण यातायात व्यवस्था विभाग र मन्त्रालयसँग बागमती नाम लेख्ने विषयमा निरन्तर छलफल गरिरहेको कार्यालय प्रमुख यादवनाथ आचार्यले बताए।
‘प्रदेशको नाम आइसकेपछि सोही नाममा सवारी दर्ता गराउनका लागि गरेका हौं,’ उनले भने, ‘तर सिस्टममा प्रदेश नं ३ लेखिएकाले रसिद सोही नाममा काटिन्छ। विभागसँग समन्वय गरेर सकेसम्म फागुन १ देखि नभए १ साता भित्रमा बागमती प्रदेशकै नाममा सवारी दर्ता गराउँछौं।’ इम्बोस्ड नम्बर प्लेट लागू गर्ने तयारी भइरहेकाले पनि यसमा अन्यौलता आएको कार्यालयहरुको भनाइ छ।
यो पनि
सरकार नै मान्दैन सवारी नियमावली, सरकारी गाडीमा जथाभावी नम्बर प्लेट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।