काठमाडौं- भारतीय हवाई सेवा प्रदायक कम्पनी भिस्ताराले नेपाल उडान सुरु गरेको छ। योसँगै भारतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने एयरलाइन्सको संख्या ४ वटा भएको छ।
तर, नेपालीको भने नेपाल एयरलाइन्सले मात्रै उडान अनुमति पाएको छ।
भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा एयर इन्डिया, इन्डियो , स्पाइस जेट र भिस्तारा भएको छ।
तर, नेपालको भने नेपाल एयरलाइन्सले मात्रै दिल्ली उडान गरिरहेको छ। भारतको भिस्तारा एयरलाइन्सले मंगलबारदेखि नयाँदिल्ली-काठमाडौं उडान सुरु गरेको छ।
यो एयरलाइन्समा भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको सयुक्त लगानीमा रहेको छ।
एयरलाइन्सले आफूहरु भारतकै पहिलो पाँचतारे एयरलाइन्स भएको र यसले तीन क्याटागोरीमा सिट बिक्री गर्ने बताएको छ। एयरलाइन्सले बिजनेस, प्रिमियम इकनोमी र इकनोमी क्लासका टिकट बिक्री गर्नेछ।
सन् २०१९ को अगष्टदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको एयरलाइन्सको यो पाँचौ गन्तव्य हो। सन् २०१५ मा भारतमा आन्तरिक उडान सुरु गरेको एयरलाइन्ससँग हाल ३९ जहाज छन्।
यसबाट उसले आन्तरिक र अन्तर्राष्ट्रिय गरी ३६ गन्तव्यमा दैनिक २ सय उडान गर्दै आएको छ।
एयरलाइन्सले सुरुवाती चरणमा प्रवर्द्धनात्मक भाडादर भन्दै दुइतर्फी भाडा १६ हजार ९ सय हुने बताएको छ। तर, नेपाली वायुसेवा कम्पनीलाई स्लट नरहेको भन्दै उडान अनुमति नदिने इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो देशका वायुसेवा कम्पनीहरुलाई भने नेपाल उडानमा अनुमति दिँदै आएको छ।
भारतीय गो एयरले पनि नेपाल उडानको तयारी अन्तिम चरणनमा पुर्याएको छ। तर, नेपालको हिमालय एयरलाइन्सले भने ३ वर्ष हुँदा पनि दिल्ली उडान अनुमति पाउन सकेको छैन।
यसैगरी निजी हवाई सेवाप्रदायक कम्पनी बुद्धले पनि दिल्ली उडानमा अनुमति पाउन सकेको छैन। श्रीले पनि दिल्ली उडान अनुमतिका लागि प्रक्रिया थालनी गरेपनि दिल्लीको इन्दिरा गान्धी विमानस्थले उडान अनुमति दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।